25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नरेशबाबु श्रेष्ठ बने ‘कोभिड हिरो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७  

कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै नरेशबाबु श्रेष्ठ ‘कोभिड हिरो’ घोषित भएका छन् । उनी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्व कोरोना फोकल पर्सन हुन् ।

अहिले उनी स्वास्थ्य कार्यालय बर्दियामा जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत छन् । एक कार्यक्रमका बीच श्रेष्ठसहित उत्कृष्ट तीन स्वास्थ्य कर्मचारीलाई बिहीबार एकाउन्टविलिटि ल्याबले काठमाडौंमा कोभिड हिरोको रुपमा घोषणा गरेको हो ।

अन्य दुई जना जलेश्वर अस्पताल महोत्तरीमा कार्यरत स्टाफ नर्स चण्डीका अधिकारी र कैलालीको धनगढी उप–महानगरपालिकाका कोरोना फोकल पर्सन लक्ष्मीराज उपाध्याय रहेका छन् । एकाउन्टविलिटि ल्याबले नेपालका उत्कृष्ट निजामति कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत लामो समयदेखि इन्टीग्रीटि आईकन छनोट गर्ने आएको थियो ।

बिहीबार भने कोभिड हिरोका लागि आम नागरिकबाट आएको नोमिनेशनको आधारमा उनीहरुको कामको अध्ययन गर्दै अन्तिम तीन जनालाई कोभिड हिरो घोषणा गरेको हो । एकाउन्टविलिटि ल्याबका अनुसार कोभिड हिरोका लागि ३४ जिल्लाका ११५ जना स्वास्थ्यकर्मीको नाम नोमिनेशनमा परेका थिए ।

तीमध्ये कोरोना रोकथाम, नियन्त्रण तथा संक्रमितको व्यवस्थापन उपचार लगायतका काम उत्कृष्ट गर्ने तीन जनालाई कोभिड हिरोको रुपमा घोषणा गरिएको थियो । कोभिड हिरो बनेका श्रेष्ठले यसले आफुलाई थप काम गर्ने हौसला प्रदान भएको बताए ।

‘कोभिड हिरो घोषित भएपछि अझै जिम्मेवारी थपिएको महशुस गरेको छु’ उनले मिसन टुडेसँग भने, ‘पुनः कोरोना संक्रमणको दर बढ्न थालेकाले आफु यसको रोकथाम तथा नियन्त्रणको लागि लागि पर्नेछु ।’ श्रेष्ठ अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाको कोरोना फोकल पर्सन समेत हुन् ।

उनले हाल भारतका केही प्रदेशमा कोभिड– १९ को प्रकोप बढेकाले बर्दिया जिल्लाका ६ स्थानका नेपाल प्रवेश विन्दुमा पुगी अवलोकन समेत गरि हेल्थ डेस्क स्थापनाका लागी पहल भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७     3:42:17 PM  |