बागेश्वरीमा अनेरास्ववियूको सरसफाई



कोहलपुर 

बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमखी क्याम्पसमा सरसफाई गरिएको छ। बुधबार नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आयोजनामा क्याम्पसमा सरसफाई गरिएको हो । उक्त अवसरमा अनेरास्ववियूसँग आवद्ध विद्यार्थीहरुले क्याम्पसको प्रांगणमा सरसफाई गरेका थिए ।

लामो समयसम्म सरसफाई नगरेका कारण क्याम्पस परिसर फोहोर बन्दै गएपछि सरसफाई गरिएको अनेरास्ववियू बागेश्वरी कमिटीले जनाएको छ । बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख शिशिर कुमार शर्माले सरसफाई कार्यक्रमको उद्घाटन गरेका थिए । अनेरास्ववियूका बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थी नेता सुमनजंग क्षेत्रीको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको थियो ।

सरसफाई कार्यक्रमको अगुवाइ गरेका क्षेत्रीले अनेरास्ववियूले विभिन्न समयमा रचनात्मक कार्य गर्दै आएको बताए । उनका अनुसार यसअघि पनि थुप्रैपटक सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो। आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
सो कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य राजेश वली, टोपराज जैसी, देवेन्द्र बुढा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १२ गते बिहीबार