राष्ट्रिय युवा संघ नेपालको भेला, नगर अध्यक्षमा अधिकारी चयन



कोहलपुर 

सत्ताधारी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको अध्यक्षमा काशीराम अधिकारी चयन भएका छन् । बुधबार कोहलपुरको शीत भण्डारमा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको भेलाबाट संघको कोहलपुर नगर कमिटीको अध्यक्षमा अधिकारी चयन भएका हुन् ।

अधिकारीको अध्यक्षतामा ९१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।नगर कमिटीको उपाध्यक्षहरुमा सुरज चन्द, विशाल शाही र राम कुमार थारुलाई चयन गरिएको छ । यस्तै सचिवमा विकास राना, सह–सचिवहरुमा राजु विसी,भरतनिधी तिवारी र कोषाध्यक्षमा सुवास परिवारलाई चयन गरिएको हो । निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माले सपथ खुवाएका थिए ।

अहिले सत्ताधारी एमालेमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल निकट कार्यकर्ताहरुले छुट्टाछुट्टै भेलाको आयोजना गरिरहेका छन् । बुधबार एमालेको ओली पक्षको भेलाले अधिकारीलाई यूवा संघ कोहलपुर अध्यक्ष बनाएको हो ।
यसअघि बाँकेमा एमालेकै भातृ संगठन अनेरास्ववियूमा समानान्तर कमिटी गठन भइसकेका छन् । ओली पक्षको अनेरास्ववियू बाँकेको अध्यक्षमा दिनेश केसी चयन भएका छन् भने माधव पक्षको अध्यक्षमा टेकेन्द्र मल्ल चयन भएका छन्।

यस्तै पार्टीको जिल्ला कमिटीमा समेत समानान्तर कमिटी क्रियाशिल छ । अन्य कमिटीमा समेत समानान्तर गतिविधि भइरहेका छन् । ओली पक्षको बाँके जिल्ला कमिटीमा सूर्य ढकाल अध्यक्ष छन् ।

उनी तत्कालीन नेकपा विवादको समयमा ओली पक्षको जिल्ला संयोजक बनेका थिए । एमालेको नवौ महाधिवेशनपछि एमाले बाँकेको अध्यक्ष अशोक कोइराला हुन् । ओली पक्षले आफूहरु नै मूलधार र संस्थापन पक्ष रहेको दाबी गरिरहेको छ । उनी अहिले एमालेको माधव नेपाल पक्षमा छन् ।

बुधबार आयोजित भेलाको प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य देबराज भारले एमालेलाई जनताको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनका अनुसार कार्यकर्ताहरुले पार्टीको नीति नियमको परिथीमा रहेर अघि बढ्नुपर्छ । भेलामा बोल्दै नेकपा एमाले बाँकेका जिल्ला कमिटीका अध्यक्ष सूर्य ढकालले पार्टी संगठन बलियो बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । उनले विकासको महान अभियानमा सरिक हुन युवाहरुलाई आह्वान गरेका छन् ।

राष्ष्ट्रिय यूवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माले पछिल्लो समय माधव नेपाल पक्षले गुटबन्दी गर्दै मुलपार्टीका बिरुद्ध समानन्तर कमिटी निर्माण गरिरहेको भन्दै मूलधार आफूहरुनै रहेको बताए । भेलामा एमाले निकट नेता, कार्यकर्ता तथा युवाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १२ गते बिहीबार