बाघ आफ्नो प्राकृतिक बासस्थानतर्फ गएका कारण अहिले नै त्रसित हुनुपर्ने अवस्था नभएको निकुञ्जले जनाएको छ ।
शुभाकर विश्वकर्मा, बाँके
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत खैरी पोष्टको खोरमा राखिएको ‘कैदी’ पाटेबाघ भागेको छ । बर्दियाको खाता जैविक क्षेत्रमा एकपछि अर्को गर्दै मान्छेलाई खान÷मार्न थालेपछि उक्त ‘नरभक्षी’ बाघलाई नियन्त्रणमा लिइएको थियो । बर्दियाबाट चैत्र ५ गते नियन्त्रण लिई बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाँच दिनपछि बाघले फलामे खोर तोडेर भागेको हो ।
बाघ मगंलबार बिहान अन्दाजी ६ बजेतिर तीन वटा फलामे रड भाँचेर भागेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । टाइगर होल्डिङ क्षेत्रमा राखिएको बाघको निगरानीका लागि दुई वटा सिसिटिभी क्यामरा जडान गरिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहका अनुसार सिसिटिभी क्यामराको फुटेज हेर्दा पौने पाँच बजेसम्म खोरभित्रै रहेको देखिन्छ । ‘करिब ६ बजेतिर खोरबाट भागेको देखिन्छ । बाघ हिडेको पदछाप पछ्याउँदा चुरे क्षेत्रतिर गएको देखिएको छ ।
निकुञ्जको उत्तरतिरका जंगल क्षेत्रमा गएको छ ।’उनले भने । बाघ गएको चुरे क्षेत्र मानव निषेधित एरिया हो । त्यहाँ घना जंगल छ ।बाँके राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी बाघ त्यही क्षेत्रमा भएको अनुमान गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा नियन्त्रणमा लिइएको उक्त पाटेबाघ वयस्क भाले बाघ हो । बाघ अनुमानित १० वर्षसम्मको रहेको प्रमुख संरक्षण अधिकृत शाह बताउँछन् । बाघ जंगलमा स्वतन्त्र रुपमा बस्ने स्वभावको जनावर हो ।
‘जंगलको राजा’को रुपमा चिनिने बाघ अरुको नियन्त्रणमा बस्न नरुचाउने बाघ सम्बन्धीका जानकारहरुको भनाइ छ । स्वतन्त्र रुपमा जंगलमा राज गरिरहेको बाघलाई खोरमा ‘कैद’ गरेर राखिएका कारण पनि विद्रोह गरेको उनले बताए ।आफूलाई स्वतन्त्र महशुस नगरेका कारण सुरक्षित स्थानतर्फ लागेको हुन सक्ने आकलन समेत गरिएको छ ।
यी बाघहरु सामान्यतया २ सय वर्गफिटसम्म जमिन ओटन्छन् । आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको खोर ४० फिट लामो र २१ फिट चौडाइको छ । त्यही बाघलाई कैद गरेर राखिएको थियो । यस्तै दैनिक पाँचदेखि ६ केजी आहारा (मासु) दिने गरिएको पनि निकुञ्जले जनाएको छ । चैत्र ६ गते र ९ गते दुईपटक आहारा दिइएको प्रमुख अधिकृत श्रेष्ठले जानकारी दिए ।
उनले अघि भने ‘उसको पाइला पछ्याउँदा उत्तर क्षेत्रमा गएको देखिन्छ । घना जंगल भएको क्षेत्रमा गएको छ । यो मानव रहित निषेधित क्षेत्र हो । त्यसैले बाघ सुरक्षित स्थान तर्फ नै गएको छ ।’ त्यो बाघलाई ९ गते दुई जना पशु चिकित्सकले चेकजाच समेत गरेका थिए । त्यहाँ निकुञ्जका चार जना तथा १२ जना नेपाली सेना समेत सुरक्षामा रहेको उनको भनाइ छ ।
वयस्क हुनुका साथै स्वतन्त्र डुल्न चाहने स्वभाव भएको जनावरलाई सानो कोठामा राखिएपछि आफूलाई स्वतन्त्र महशुस नगरेर सुरक्षा घेरा तोडेको हुन सक्ने बुझिएको छ ।बाघ आफ्नो प्राकृतिक बासस्थानतर्फ गएका कारण अहिले नै त्रसित हुनुपर्ने अवस्था नभएको निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्