18 September 2024  |   बुधबार, अशोज २, २०८१

४ कोठे विद्यालयको भवन शिलान्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७  

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर १ मा रहेको जनज्ञान ज्योति माध्यमिक विद्यालयको ४ कोठे भवन शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज (अथक)ले ४ कोठे विद्यालयको भवन शिलान्यास गरे ।
शिलायान्यासको क्रममा बोल्दै सांसद अथकले टिनका छाना हटाउँदै पक्की भवनहरु बनाउने अभियानका क्रममा यो भवन बन्दै गरिएको बताए ।

उनका अनुसार तराईका विद्यालयमा टिनका छाना मुनी पढ्दै गरेका बालबालिकाहरुलाई अब पक्की घरमा पढ्न पाउने वातावरण सिर्जना गर्न काम थालनी भएको बताए । ‘ अहिले पनि विद्यार्थीहरुले टिनका छानामुनी पढ्नु परेको छ । त्यसले धेरै समस्या निम्तिएको छ । गुणस्तरीय शिक्षा आर्जनमा समेत समस्या भएको छ ।’उनले भने,‘त्यसको समस्याको लागि यस्तो अभियान सञ्चालन गर्न लागेको हुँ ।’

‘सामुदायिक विद्यालयका जीर्ण भवनमा बालबालिकाहरु बढ्न मन पराउँदैनन, जसले पनि सुन्दर र सफा बातावरण खोजिरहेको हुन्छ त्यसैले अब यो विद्यालयमा त्यो वातावरण सिर्जना गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ उनले थपे । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपी खनालले पहिले जीर्ण अवस्थामा रहेको विद्यालय अहिले निकै परिवर्तन भएको बताए । उनका अनुसार विद्यालयका जीर्ण अवस्थामा आफूले पङ्खा, झ्याल, टिनका छाना नयाँ राखेको बताए ।

यस्तै विद्यालय व्यववस्थापन समितिका अध्यक्ष खिमलाल शर्माले ५० लाख ८२ हजारको लागतमा विद्यालयको भवन बन्न लागेको बताए । उनका अनुसार टेन्डर मार्फत जारा इन्जिनियरिङ्ग कन्ट्रक्सन एण्ड सर्भिसेज प्रा.लि.सँग पुष महिनामा सम्झौता गरेको बताए । सो भवन आगामी वर्षको असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको शर्माको भनाई थियो । यस्तै विद्यालयका प्राधानाध्यापक एकदेव पन्थी, शिक्षक, विद्यालय, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७     11:20:03 AM  |