16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

बालविवाह मुक्त वडाका लागि योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि विभिन्न रणनीतिहरु बनाउन लागेको छ । सोमबार कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका बनाउन के कस्ता कामहरु गर्ने, कस्ता रणनीतिहरु बनाउने, के के मापदण्डहरु पुरा गरेको हुनुपर्ने र कहिलेसम्म वडालाई बालविवह मुक्त बनाउने भन्ने विषयमा कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा सहभागी कोहलपुर नगरपालिकाका १५ वटै वडा अध्यक्षहरुले आफ्नो वडामा गर्ने काम र कहिले सम्म बालविवाह मुक्त बनाउने भन्ने विषयमा छलफल गरी रणनीति बनाएका छन् । कोहलपुर नगरपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्नको लागि कोहलपुर नगरपालिकाले विद्यालयमा, नगर र वडा स्तरीय किशोरी क्लब÷बाल क्बल समेत गठन गरिसकेको छ । कोहलपुरमा पहिलो चरणमा चार वटा वडालाई बालविवाह मुक्त घोषणा गरिने लक्ष्य राखिएको छ ।

जसको लागि सर्वेक्षणका कामहरु पनि पुरा भैसकेका छन् । कोहलपुरका चार वडा बाहेक सबै २०७९ साल बैशाखमा बालविवाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ लाई बालविवाह मुक्त गराउनका लागि किशोरी क्लबले घरदैलो अभियान सञ्चालन गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष कर्णबहादुर थापाले २०७९ साल बैशाख महिनामा बालविवाह मुक्त वडा बनाउने लक्ष्य राखेको बताए । उनका अनुसार अहिले अभियान तीव्र रुपमा चलिरहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष नैन बहादुर शाहीले यहि चैत महिनाको २० देखि २५ गते भित्रमा दुई वटा वडालाई बालविवाह मुक्त वडा घोषण गर्ने बताए ।

‘वडामा दुई सय जनाको घरधुरीमा सर्वेक्षण गर्दा बालविवाह निकै न्यूनिकरण भएको पाएका छौँ’, ‘बालबालिकाहरु विद्यालयमा पनि उपस्थिति निकै राम्रो देखिएको छ’ उनले भने । स्याक नेपाल र प्लान इन्टरनेशन नेपालको साझेदारी र कोहलपुर नगरपालिकाको समन्वयमा यो कार्यक्रम सञ्चालन भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७     11:14:24 AM  |