कोहलपुर
बाँकेमा बाघको छाला सहित चार जना पक्राउ परेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ च्यामाबाट बाघको छाला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लाका चार जना पुरुष पक्राउ परेका हुन् ।
सुर्खेत– कोहलपुर सडकखण्डमा अबैध बाघको छाला,हड्डीको कारोबार भइरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चिसापानीबाट कोहलपुर तर्फ पैदल आउँदै गरेका उनीहरुलाई छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ५० वर्षीय गंग बहादुर खत्री र २० वर्षीय प्रकाश खत्री रहेका छन् ।यस्तै दैलेखको भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
चारै जनालाई खानतलासी गर्दा जुम्लाका जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र सुर्खेतका गंगबहादुर खत्रीले हातमा समातेको अवस्थामा प्लाष्टिकको बोरा भित्र बाघको जस्तो देखि हड्डी २ के.जी.५ सय ग्राम फेला पारि बरामद गरिएको थियो ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६‐२) बमोजिम कारोबार गर्नेलाई १ देखि २५ लाख सम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने उल्लेख गरिएको छ ।