ईलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न वन्यजन्तुका अंगहरुसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । बिहीवार र शुक्रवार गरेर कोहलपुर प्रहरीले विभिन्न वन्यजन्तुका अंगहरुसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले दुई दिनमा वन्यजन्तुका अंगसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बैजनाथ गाउँपालिका, १ चिसापानी बजारबाट बिहीवार साँझ दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला एक थान, भालुको पित्त दुई थान र कस्तुरीको बिना एक थानसहित ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा चामुण्डा नगरपालिका, २ दैलेखका ४२ वर्षीय चीन बहादुर थामीमगर, घोडाघोडी नगरपालिका, १ कैलालीका ४५ वर्षीय रत्न बहादुर खत्री र नलगाड नगरपालिका, १ जाजरकोटका ४० वर्षीय खले विक रहेको डिएसपी खनालले जानकारी दिए ।
‘चिसापानी बजारमा हिडिरहेको अवस्थामा तीनै जनालाई खानतलासी गर्ने क्रममा विभिन्न वन्यजन्तुका अंगहरु बरामद गरिएको हो’ उनले भने, ‘पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।’
यस्तै कोहलपुर प्रहरीले शुक्रवार दिउँसो गैंडाको खागसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) खनालले दिएको जानकारी अनुसार कोहलपुर, ११ दशविगाहा नजिकैबाट दुई थान गैंडाको खागसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
‘हाम्रो कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले गैंडाको त्रिभुज आकारको दुई थान बहुमूल्य खागसहित दुईजनालाई नियन्त्रणमा लिन सफल भएको हो’ उनले भने, ‘वन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा पछ्याउन सफलता हात लाग्यो ।’
सम्भवत बाँकेमा गैंडाको खागसहित मानिसहरु पक्राउ परेको पहिलोपटक भएको बताइन्छ । पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका, २ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका, ५ का ३४ वर्षीय सुरेश सिंजाली रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट ईन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।
बिशेष टोलीले खानतलासी गर्दा पक्राउ परेका पुलामी मगरको साथबाट त्रिभुज आकारको गंैडाको २ थान खाग बरामद भएको उनले बताए । खागसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।