सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बेरोजगार युवायुवतीहरुको लागि सीप विकास तालिम सुरु भएको छ । जन सेवा संघ सुर्खेतको आयोजनामा मंगलबार देखि तालिम सुरु भएको भएको हो । तालिम आगामी चैत्र १३ गतेसम्म सञ्चालन हुनेछ ।
मंगलबारबाट सुरु भएको सिप विकास सम्बन्धी पलम्बिङ तालिमको उद्घाटन जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले गरेका थिए । तालिमको उद्घाटन सत्र जन सेवा संघ सुर्खेतका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले बेरोजगार युवायुवतीहरुले सीप सिक्न आवश्यक रहेको बताए ।उनका अनुसार सीपले मानिसको जिविकोपार्जनमा सहयोग गर्छ । त्यसैले तालिममा सहभागी युवायुवतीहरुलाई सक्रिय भएर सीप सिक्न आग्रह गरेका थिए ।
उद्घाटन सत्रमा कार्यक्रमको विशिष्ट अतिथि समेत रहेकी शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक डाक्टर दिपा दाहालले विशेष गरेर युवतीहरु सीपयुक्त हुनैपर्ने बताएकी थिइन् ।
समाजमा पुरुषको तुलनामा महिलालाई कमजोर रुपमा हेरिने भएको रोजगार हुनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा जन सेवा संघ सुर्खेतका अध्यक्ष हरिप्रसाद शर्माले बेरोजगार युवायुवतीहरुलाई लक्षित गरेर पलम्बिङ तालिम सुरु गरिएको बताएका थिए । तालिममा सुर्खेतका विभिन्न क्षेत्रका बेरोजगार युवायुवतीहरुको सहभागिता रहेको छ ।