7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सवारीमा नम्बर प्लेट लेखाउँदै प्रहरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७  

काेहलपुर

इलाका प्रहरी कार्यालय कोहलपुरले नम्बर प्लेट मेटिएका सवारीको नम्बर प्लेट सडकमै लेखाउँन सुरु गरेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर नम्बर प्लेट मेटिएका सवारी साधनका नम्बर प्लेट सडकमै लेखाउँन प्रहरीले थालेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले कोहलपुर क्षेत्र भएर चल्ने सवारी साधनका नम्बर प्लेट नबुझिने, मेटिएको पाइए सडकमै लेखाउने कार्यको सुरुवात गरिएको बताए । ‘यस क्षेत्रमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर यो अभियानको सुरुवात गरिएको हो’ उनले भने, ‘सवारी साधनका नम्बर बुझिने भए दुर्घटना गराएर भागे भनेपनि नियन्त्रणमा सजिलो हुन्छ ।’ अभियानको पहिलो दिन प्रहरीले कोहलपुर न्यूरोड चोकमा सवारी साधनमाथि चेकजाँच गरेर ३४ सवारी साधनका नम्बर प्लेट सडकमै लेखाएको प्रहरी निरीक्षक बमले मिसन टुडेलाई जानकारी दिए ।

प्रहरीले मोटरसाइकल ७, अटोरिक्सा ६, बस २ जीप १, टिप्पर ७, ट्रक २ र ट्रक्याटर ९ वटामा मेटिएका नम्बर प्लेट लेखाएको थियो । नम्बर प्लेट लेखाउँदा लागेको खर्च समेत सवारी धनीले तिर्नुपर्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले नम्बर नहालेर चलाउने नयाँ, नम्बर प्लेट पूराना भएर नबुझिएका सवारी साधनलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको बताए ।

‘नम्बर प्लेट नबुझिदा दुर्घटना गराएर भागेका सवारी साधनलाई नियन्त्रणमा लिन समस्या हुने गरेको पाइयो’ उनले भने, ‘सवारीका नम्बर प्लेट स्पष्ट रुपमा देखिने बनाउनुपर्छ ।’ यसले सडक दुर्घटना हुँदा तत्काल सवारीको पहिचान हुने र फरार रहेका सवारीलाई खोज्न समेत सजिलो हुने विश्वास कोहलपुर प्रहरीले लिएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७     4:54:56 PM  |