नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा गरिएको छ । शनिवार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका थिए ।
गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप–स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुख कक्षपतिले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए । खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै स्वास्थ्य कार्यालय बाँकेले पालिकालाई प्रमाणपत्र दिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले पालिका प्रमुख कक्षपतिलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गरे । खजुरा गाउँपालिका पूर्णखोपमा स्वास्थ्यको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले प्रस्तुतिकरण गरेका थिए ।