कोहलपुर ।
कोहलपुरमा बिहीबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बुधबार राती भएको सवारी दुर्घटनाको बिषयलाई लिएर इलाका प्रहरी कार्यालय कोहलपुर अगाडि प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको हो ।
विद्यूतरोडमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिदा मृत्यु भएका जयकर्ण मल्लका आफन्तहरुले २ घण्टा कोहलपुरमा चक्काजाम समेत गरेका थिए ।
सहमती पश्चात चौराहामा गरिएको चक्काजाम खुलेपनि केही बेरपछि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । दुवै पक्षबीच सहमती भइसकेको अवस्थामा केही व्यक्तिहरुले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र खनालले बताए ।
‘भित्र दुवै पक्षबीच सहमती भइसकेको अवस्थामा प्रहरीमाथि ढुङ्गामुढा हुने काम भयो’ उनले भने, ‘त्यसपछि उनीहरुलाई हटाउँनको लागि प्रहरीले लाठीचार्ज गर्नुपर्ने अवस्था आएको हो ।’
प्रहरीमाथि ढुङ्गामुढा हुँदा ड्युटीमा खटिएका केही प्रहरी जवानहरु सामान्य घाइते भएको कोहलपुर प्रहरीले जनाएको छ । प्रदर्शनकारीतर्फ समेत केही सामान्य घाइते भएको बताइएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि केहीबेर इलाका प्रहरी कार्यालय कोहलपुर अगाडि तनावग्रस्त बनेको थियो । यता मृतकका आफन्तहरुले भने प्रहरीमाथि ढुङ्गामुढा गर्नेलाई आफुहरुले नचिन्ने बताए ।
‘सवारी धनि र हामी बिच सहमति भईसकेको छ’ मृतकका दाई जल बहादुर मल्लले भने, ‘बाहिरबाट प्रहरी माथि आक्रमण गर्नेलाई हामीले चिन्दैनौं ।’
*यसअघि मृतकका दाई जल बहादुर मल्ल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । –सम्पादक