7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बाँकेमा दोस्रो चरणको खोप, लक्ष्य भन्दा कमले लगाए खोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७  

कोहलपुर ।

बाँकेमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप १९ हजारभन्दा बढीले लगाएका छन् । दोस्रो चरणमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर एकदिन थपेर थपेर सकिएको खोप अभियानमा १९ हजार १ सय ५६ जनाले मात्र खोप लगाएका
हुन् ।

खोप बाँकेका ८१ वडामा खोप लगाइएको थियो । पहिलो चरणमा छुटेका र ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । बाँकेका सात स्थानीय तहमा दोस्रो चरणको खोप कार्यक्रम सकिएको छ भने बैजनाथ गाउँपालिकामा भने अझै दुई दिन थप गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सकिएको छ ।

नेपालगन्जमा ४६ हजार ३ सय ७३ जना, कोहलपुरमा २८ सय ६८ जना, राप्तीसोनारीमा २६ सय जना, डुडुवामा १२ सय ९४ जना, खजुरामा २६ सय २६ जना, जानकीमा १८ सय ३२ जना र नरैनापुरमा १६ सय ३९ जनाले दोस्रो चरणको खोप लगाएका हुन् ।

स्वाथ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बाँकेमा लक्ष्यको ७४ प्रतिशतले खोप लगाएको बताए । बैजनाथ गाउँपालिकामा दुई दिन थप गरिएकोले अझै १० प्रतिशत भन्दा बढ्ने अनुमान गरिएको उनको भनाइ थियो । उनले पहिलो चरणको खोप अभियान सफल भएको बताउँदै बाँकेमा पहिलो चरणमा १० हजारले खोप लगाएको जानकारी दिए ।

यस्तै शर्माका अनुसार पहिलो चरणको खोप लगाएपछि २८ दिनको फरकमा खोप लगाउने पहिलेको प्रावधान भए पनि नेपाल सरकारले दुईदेखि तीन महिनाको फरक—फरकमा खोप लगाए प्रभावकारी हुने भएकाले दोस्रो चरणको खोप वैशाखको ७ गतेदेखि १५ गतेसम्म लगाइने बताए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७     10:32:32 AM  |