18 September 2024  |   बुधबार, अशोज २, २०८१

नील सागरलाई सरसफाई सामान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७  

नेपालगञ्ज ।

महाशिवरात्री पर्वको अवसरमा नेवाः मिसा दबू बाँकेले स्थानीय नील सागर वृद्धाश्रमलाई सरसफाईका सामाग्री तथा खाद्य वस्तुहरु हस्तान्तरण गरेको छ । बिहीवार आश्रममा आयोजित एक कार्यक्रमका वीच नेवाः मिसा दबू बाँकेका अध्यक्ष शोभा श्रेष्ठले उक्त सामाग्रीहरु नील सागरका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेकी थिइन् ।

साबुन, फिनाइल, हर्पिक, कुचो, बाल्टी, मग, सानिटाइजर, मास्क लगायत आश्रम र शौचालयको सरसफाई तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री लगायत खाद्य सामाग्रीहरु दिइएको हो ।

कार्यक्रममा नेवाः देय दबू बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मानव सेवा नै सर्वोत्कृष्ठ सेवा हो भन्दै आजकल जन्मदिन र अन्य व्यक्तिगत उत्सवका लागि होटेलमा गर्ने फजुल खर्च आश्रममा आएर आश्रमलाई सहयोग गरिरहेको चर्चा बताए ।

त्यस्तै नेवाः देय दबू, बाँकेका सल्लाहकार पूर्ण लाल चुकेल नेवाः देयः दबू र नेवाः मिसा दबूको संक्षिप्त परिचय दिंदै राज्यले वहन गर्नु पर्ने दायित्व नील सागरले वहन गरेर सराहनीय काम गरेको बताए ।

नेवार समुदायको महिलाहरुको संगठन नेवाः मिसा दबू बाँकेका सल्लाहकार सरिता शाक्यद्वारा सञ्चालित सो कार्यक्रममा नील सागरका अध्यक्ष सरिता खनालले आश्रमको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा युवा उद्योगपति राजेश नारायण श्रेष्ठ, नेवाः मिसा दबूका उपाध्यक्ष उमा श्रेष्ठ लगायत नेवाः मिसा दबूका एक दर्जन महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७     10:31:10 AM  |