कोहलपुर ।
बाँकेसहित देशभर बिहीबार धुमधामका लागि महाशिवरात्री पर्व मनाइएको छ । महाशिवरात्रीको अवसरमा नेपालगञ्जमा रहेको प्रख्यात जुँगे महादेव र माता बागेश्वरीको दर्शन गर्न ठूलो भीड लागेको थियो । देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बागेश्वरी मन्दिरको तलाउको बीचमा रहेको नेपालकै एक मात्रै जुङ्ग जुङ्गे महादेवको मन्दिर रहेको छ ।
बाँकेसहित देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको भिड लागेको थियो । महाशिवरात्रीको अवसरमा बाँकेको नेपालगञ्जमा विभिन्न धार्मिक संगठनहरुको आव्हानमा बाजा गाजाका साथमा विभिन्न झाँकी निकालिएको बताइएको छ । विभिन्न भगवानको रुपमा बालबालिकालाई सिंगारिएर नगर परीक्रमा गराईएको थियो ।
महाशिवरात्रीको अवसरमा जिल्लामा कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले महाशिवरात्रीमा कुनै त्यस्तो घटना केही नभएको बताए । ‘महाशिवरात्रीको अवसरमा धेरै भिडभाड हुने स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरेका थियौं’ उनले भने, ‘बागेश्वरी मन्दिर लगायत जिल्ला अन्य शिव मन्दिरहरुमा समेत भक्तजनहरुले ढुक्कले पूजा आराधना गर्न पाउनुभयो ।’ जिल्लामा सबैभन्दा धेरै भिडभाड भएको बागेश्वरी मन्दिरमा सुरक्षाको लागि बिहानै ३ बजेदेखि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
सुरक्षा व्यवस्था मिलाइएकै कारण महिलाहरुका गहना चोरी नभएको प्रहरीले दाबी गरेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी विहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित रहेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिने गरिन्छ ।
माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिएको छ ।