16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कर्णाली उत्सवको दोस्रो संस्करण सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको दोस्रो संस्करण सुरु भएको छ । । ‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सवको दोस्रो संस्करण सुरु भएको हो । ऋति फाउण्डेशनको आयोजनामा भएको दोस्रो संस्करणको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक समारोहका बीच उद्घाटन गरेका थिए । फागुन २९ गतेसम्म सञ्चालन हुने उत्सवमा पहिलो दिन महत्वपूर्ण विषयमा छलफल भएका छन् ।

पहिलोदिन नेपाल–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’, शीर्षकमा विद्धत प्रवचन दिए । यस्तै ‘वीरेन्द्रनगरको वैभव’ बारेमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रवचन दिएका थिए । कार्यक्रमको शुरुवात कर्णाली धुनबाट शुरु गरिएको थियो । त्यसपछि जुम्लाको लाम्रा गाउँका महिलाहरुले मागल प्रस्तुत गरे ।

भेरी गंगा नगरपालिकाकी उप–प्रमुख रेणु आर्चायले स्वागत मन्तव्य राखेको उत्सवमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विरासत स्वर्णीम रहेको बताए । उनका अनुसार कर्णालीको विकासका लागि शिक्षा आवश्यक छ । उनले कर्णाली उत्सवले कर्णालीको विकास र उन्नतीमा ठूलो भूमिका खेल्ने सरकारको अपेक्षा रहेकोमा जोड दिए ।

‘कर्णाली विगतमा कस्तो थियो । विगतका कुरा जान्नुपर्छ । वर्तमानमा हामी कस्तो अवस्थामा छौ ।यसको बारेमा पनि हामीले छलफल गर्नुपर्छ । र भविष्यमा कस्तो हुने भन्ने विषयमा समेत हुनुपर्छ ।’ उनले भने । यस्तै उनले सो अवसरमा कर्णाली ‘पिपुल्स एण्ड प्लेसेज’ नामक फोटो पुस्तकको विमोचन गरे । भने डोल्पाका युवा भास्कर बस्नेतले बनाएका फोटोहरुको अनावरण गरेका थिए । उक्त फोटोहरु प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह र मुख्यमन्त्री शाहीले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

पहिलो दिन ‘हाम्मो मान्नवी’ मुल शीर्षकमा बहस भएका थिए । दोस्रो दिन आज ‘सुर्के थैली’ शीर्षकमा विभिन्न विषयमा बहस हुनेछन् । गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७     8:38:37 AM  |