12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

प्रधानमन्त्री कप महिला भलिबल, एपिएफले जित्यो उपाधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

नेपालगञ्ज ।

साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । मंगलबार नेपालगञ्जस्थित रंगशालाको कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै एपिएफ उपाधि हात पार्न सफल भएको हो ।

विजेता एपिएफले ५ लाख, उपाधि र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका थिए । खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन । सुरुवाती देखिनै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समय चुक्न पुग्यो । पहिलो सेटमा एक समय १६–१६ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंकको अग्रता लिँदै २५–२२ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले २५–२१ ले जित हात पार्यो । तेस्रो सेटमा पनि दुबै टोलीले सुरुवात देखिनै उच्च प्रतिस्पर्धा गरे । १०–१० को बराबरी अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै सेटमा एक समय अग्रता लिएको थियो ।

तर त्यसलाई निरन्तरता दिन सकेन । एपिएफले उत्कृष्ट पूनरागमनका साथ पुन पाँच अंकको अग्रता लिँदै २०–१५ अवस्थामा पुग्दै उपाधि सहज बनाएको थियो । एपिएफले तेस्रो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जितेको थियो । एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । प्रतियोगितामा न्यु डायमन्ड तेस्रो हुँदा नेपाल आर्मी चौथो भए ।

न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गरेका
थिए । यस्तै एपिएफकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । एपिएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी उनी सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार प्राप्त गरिन् ।

विधागततर्फ नेपाल पुलिस क्लबकी युवा स्टार उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित भइन् । एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । एपिएफका महेश चौधरी प्रतियोगिता उत्कृष्ट प्रशिक्षक चुनिए ।

विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरेका थिए । बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:11:30 AM  |