18 September 2024  |   बुधबार, अशोज २, २०८१

सवारी दुर्घटना न्यूनिकरणको लागि, ‘विद्यार्थी सहायता सुरक्षा योजना’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

कोहलपुर ।

विद्यालय क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय कोहलपुरले ‘विद्यार्थी सहायता सुरक्षा योजना’ अगाडि सारेको छ । योजनाको मंगलबार त्रिभुवन नमूना मावि अगाडि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । विद्यालय अगाडिको जेब्राक्रसबाट बेलुन उडाएर योजनाको उद्घाटन गरिएको थियो ।

सो अवसरमा उनले यो कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिने बताए । ‘सडक नजिकै रहेका यहाँका विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सवारी दुर्घटनामा पर्ने गरेका छन्’ नगर प्रमुख रावतले भने, ‘यही नजिकै गतवर्ष भएको एक सवारी दुर्घटनामा परेर बालिका अपाङ बन्नुप¥यो ।’ कोहलपुर प्रहरीको यो कार्यक्रमलाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कोहलपुर क्षेत्रमा सवारी दुर्घटना बढिरहेको भन्दै नगर प्रमुख रावतले प्रहरीसँग समन्वय गरेर आफुहरुले काम गर्ने बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले पहिलो चरण राजमार्गमा रहेका ५ वटा विद्यालय क्षेत्रमा योजना लागू गरिएको जानकारी दिए । ‘विद्यार्थीहरु विद्यालय जाँदा र घर फर्किदा सडक पार गर्दा सवारी दुर्घटनाको जोखिम हुन्छ’ उनले भने, ‘यो योजनाअनुसार विद्यार्थीहरुलाई सडक वारपार गर्न प्रहरीले सहज बनाइदिन्छन् ।’

त्रमश यो अभियानमा विद्यार्थीका अगुवा, शिक्षक तथा अभिभावकहरुलाई समेत जोडिने डिएसपी खनालले जानकारी दिए । ‘यस्ता कामहरु प्रहरी र ट्राफिक प्रहरीले मात्रै गरेर पनि हुँदैन’ उनले भने, ‘यसमा विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समेत जोडिनेछ ।’ योजनाअनुसार ट्राफिक र नेपाल प्रहरी विद्यालय खुल्ने दिनमा बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म सडकमा रहेर विद्यार्थीहरुलाई सडक पार गर्नमा सहज गराउँनेछन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले योजनाको प्रभावकारीता हेरेर आगामी दिनमा अन्य विद्यालय क्षेत्रमा समेत लागू गरिने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा बढी विद्यार्थी संख्या रहेका राजमार्ग क्षेत्रका विद्यालयमा लागू गरिएको हो । योजना प्रभावकारी भएको देखिएका राजमार्ग क्षेत्रका अन्य विद्यालयमा समेत लागू गरिने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यो कार्यक्रमले विद्यालय अगाडि हुने सवारी दुर्घटना केही भएपनि न्यूनिकरण हुने अपेक्षा लिइएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:07:50 AM  |