नेपालगन्ज ।
बाँके खजुरा गाउँपालिका २ का खेमकुशन मल्लको साउदी अरबमा मृत्यु भएको छ । उनी रोजगारीको शिलशिलामा साउदी अरबको रियादमा काम गर्दै आएका थिए । वैदेशिक रोजगारीको लागि साउदी पुगेका उनको उपचारकै क्रममा स्थानीय दावादमी अस्पतालमा मृत्यु भएको हो । आर्थिक अभावका कारण मल्लको शव नेपाल ल्याउनको लागि समस्या भएको छ ।
उनको शव नेपाल ल्याउनको लागि बाँके बर्दिया मैत्री समाज जापानले आर्थिक संकलन समेत सुरु गरेको छ । रोजगारीका शिलशिलामा साउदी पुगेका मल्लको शवलाई घर पठाउनको लागि आर्थिक अभाव भएपछि सहयोग संकलन सुरु गरिएको बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष अर्जुन थापाले जानकारी दिए ।
‘आर्थिक अवस्था कमजोर भएका मल्लको मृत्युपछि परिवारलाई केही राहत होस् भनेर आर्थिक संकलनमा जुटेका छौं’ उनले भने, ‘विभिन्न देशमा रहेका नेपालीहरुले सक्दो आर्थिक सहयोग गरिरहनुभएको छ ।’ बाँके बर्दिया मैत्री समाज जापानका संस्थापक अध्यक्ष तथा गैर आवासीय संघ जापानका महासचिव जनक विक्रम शाहले विश्वभर छरिएर रहेका बाँके–बर्दियाबासीसँगको सहकार्यमा मृतक परिवारको सहयोगार्थ रकम संकलन हुने कार्य जारी रहेको बताए ।
जापानबाट मात्रै हालसम्म २ लाख रुपैयाँ बढी सहयोग रकम संकलन भैसकेको बताउँदै उनले युके, मकाउ, कतार, ओमन, मलेसिया र साउदीबाट २ लाख सहयोग रकम संकलन भएको जानकारी दिए । मृतक मल्लको परिवारलाई आर्थिक सहयोग गर्नको लागि बाँके बर्दिया मैत्री समाज जापानले सबैलाई आह्वान गरेको छ ।
परिवारलाई आर्थिक सहयोगको लागि कुमारी बैंकको रिमझिम बजार शाखामा कमला मल्लको नाममा रहेको खाता नम्बर १७३०१०८७३१२००००१ रकम जम्मा गर्न सकिनेछ । मृतक मल्लको शवलाई नेपाल पठाउनको लागि साउदी अरबमा रहेको नेपाली दुतावाससँग निरन्तर प्रयास भइरहेको बताउँदै गैर आवासीय संघ जापानका महासचिव शाहले कानूनी प्रक्रिया सबै मिलेपछि केही दिनमा नै शवलाई नेपाल पठाइने जानकारी दिए ।