डिल्ली शाही ।
बाँके जिल्लाका आठै स्थानीय तहमा १६ करोडको दिवा खाजा खुवाइने भएको छ । आठ स्थानीय तह मध्ये दुई स्थानीय तहले भने दिवा खाजा सञ्चालन गरीसकेका छन् । दुई वटा पालिका दिवा खाजा कार्यक्रम शुरु गर्ने तरखरमा छन् भने अन्य चार स्थानीय तहले भने दिवा खाजाको कुनै तयारी नगरेको बताएका छन् ।
बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिकाले दिवा खाजा सञ्चालन गरेका हुन् । कोहलपुर नगरपालिका र जानकी गाउँपालिका यसको तीव्र तयारीमा छन् । जिल्लाको एकमात्र नेपालगञ्ज उप–महानगरपालिका,बैजनाथ गाउँपालिका, नरैनापुर र डुडुवा गाउँपालिकामा भने अझै कुनै प्रक्रिया अगाडि नबढाएको पाइएको छ ।
नेपाल सरकारले बाँकेमा मात्रै विद्यार्थीको दिवा खाजाका लागि विद्यालयलाई १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बजेट अनुदानमा छुट्याएको छ । सो कार्यक्रम प्रति विद्यार्थी १५ रुपैयाँका दरले १ सय ८० दिनसम्म चल्नेछ ।
खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल दिवा खाजा निकै प्रभावकारी भएको बताउँछन् । दिवा खाजा कार्यक्रम शुरु भएदेखि बालबालिकाहरु ९५ प्रतिशत उपस्थित हुने गरेको उनले बताए । खजुरामा खिवा खाजा कार्यक्रम शुरु हुनु भन्दा पहिला ६० प्रतिशत बालबालिकाहरु नियमित रुपमा आउने गरेका थिए ।
मल्लका अनुसार पहिले हाजिरी रजिष्टरमा मात्र उपस्थिति हुने थियो । तर अहिले कक्षाकोठामा उपस्थित भएको देख्दा निकै खुसी लाग्छ । खजुरामा उक्त कार्यक्रमको लागि सरकारले २ करोड ७० लाख रुपैयाँ विनियोजन छ । भने तीन महिनामा १ करोड ४४ लाख खर्च भैसकेको उनको भनाइ छ । सो पालिकामा ४७ वटा विद्यालयहरु रहेका छन् ।
यस्तै राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जिवन न्यौपानेले फागुन १ गतेबाट दिवा खाजा सञ्चालन भइसकेको छ । उक्त पालिकामा दिवा खाजाको लागि २ करोड बजेट रहेको छ भने ५४ वटा विद्यालय रहेका छन् ।
यस्तै कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा भने दिवा खाजाको कार्यक्रम सञ्चालन गर्नका लागि तीव्र तयारी भइरहेको छ । जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा वली (खड्का)ले दिवा खाजा कार्यक्रम फागुन महिना मै शुरु गर्ने तरी तयारी भइरहेको जानकारी दिइन् ।
उनका अनुसार विद्यालय व्यवस्थापन समितिले दिवा खाजा निर्देशिका अनुसार काम गर्नेछ । उक्त पालिकामा ५७ वटा विद्यालय रहेका छन् । खाजाको लागि १ करोड ३२ लाख २४ हजार रकम छुट्याएको छ ।
यस्तै नेपालगञ्ज उप–महानगरपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा अझै दिवा खाजाको कुनै तयारी भएको छैन ।
डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले कोरोना कारण विद्यालय ढिलो सञ्चालन भएकाले अहिले नै सञ्चालन गर्ने नसकिने बताए ।
यहाँ फागुन ६ गतेबाट विद्यालय सञ्चालन भएका थिए । । डुडुवा गाउँपालिकामा दिवा खाजाका लागि ९९ लाख रुपैयाँ छुट्याएको छ । तर अहिले सम्म कुनै पनि तयारी छैन ।
यस्तै नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले दिवा खाजाको लागि तयारी नभएको बताए । पालिकाको लागि ४ करोड १३ लाख ३० हजार रुपैयाँ रकम छुट्याएको उनको भनाइ थियो ।
यस्तै बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले अनलाइन र पालिकाकाले तथ्यांकमा धेरै फरक परेकोले अहिले सो कार्यक्रम सञ्चालन गर्ने नसकिएको बताए । पालिकामा दिवा खाजाका लागि १ करोड रकम छुट्याएको छ ।
यस्तै नरैनापुर गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद थारुले दिवा खाजाको लागि कुनै तयारी नभएको बताएका छन् । उक्त पालिकामा ४७ वटा विद्यालय रहेका छन् । नरैनापुरमा दिवा खाजाका लागि २ करोड ३१ लाख ६५ हजार रकम छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्