स्थानीयहरुको विरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ ।
स्थानीयहरुको चर्को नाराबाजिका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज भट्ट, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भूमिपुजन गरेर औद्योगिक क्षेत्रको मंगलबार शिलान्यास गरेका हुन् ।
औद्योगिक क्षेत्रमा पर्ने बस्तीको व्यवस्थापन नगरी शिलान्यास गर्ने लागिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।
शिलान्यास कार्यक्रमलाई कुनै पनि अवरोध हुन नदिनको लागि स्थानीय प्रशासनले ठूलो संख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरेको थियो ।
सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । शिलान्यास गर्ने परिसरमा नै स्थानीयहरुले चर्को स्वरमा सरकारका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
स्थानीयहरु मञ्चतर्फ जान थालेपछि पटक पटक सुरक्षाकर्मीले रोक्दा दुवै पक्षबीच सामान्य झडप समेत भएको थियो । कार्यक्रमको सुरक्षाको लागि ५ सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।