प्रेस संगठन नेपाल बाँकेको भेला, ‘चुनाव हुँदैन,प्रतिगमन सच्चिन्छ’



कोहलपुर ।

पूर्व सिँचाइ राज्यमन्त्री तथा संविधान सभा सदस्य दलबहादुर सुनारले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय खारेज हुने बताएका छन् । परिर्वतन विरोधी ओलीले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त उपलब्धिको रक्षा गर्नुको साटो व्यवस्था मास्ने काम गरेको बताएका हुन् । शनिबार नेपालगञ्जमा सम्पन्न प्रेस संगठन नेपाल बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री सुनारले सम्मानित अदालतले संसद विघटनको निर्णय सदर गर्ने बताएका थिए ।

उनका अनुसार कम्युनिष्ट पार्टीमा व्यक्ति भन्दा नीति र कमिटीको निर्णय प्रदान हुने भन्दै निर्वाचन आयोगले सूर्य चिन्ह र पार्टीको आधिकारीकता आफूहरुको पक्षमा हुने बताए । उनले ओली पक्षीय साइबर स्यालहरुले प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीलाई पदको लागि सडकमा आएको भन्ने आरोप राजनीतिक प्रोपोगाण्डा रहेको समेत बताए । अहिले सूर्य चिन्हको लडाइँ विधिको लडाइँ भएको उनको भनाइ थियो । ‘ ओलीले चुनाव गर्दैनन्। प्रतिगमन सच्चिन्छ। संसद पुनःस्थापना हुन्छ ।’ उनले भने । यस्तै उनले सरकारले प्रदेश २ का प्रदेश प्रमुखलाई अपमानजनक रुपमा हटाएको भन्दै आपत्ति प्रकट गरेका थिए ।

भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) बाँकेका सचिव अशोक कोइरालाले सत्य र तथ्य लेख्ने पत्रकारहरु देशमा भइरहेको प्रतिगमनका विरुद्ध खरो रुपमा उत्रिनु पर्ने बताएका थिए । उनका अनुसार अहिलेको सरकारले झुठको खेती गरिरहेको छ । सत्य अंगाल्ने र असत्यको पक्षमा नलाग्नेहरु असंवैधानिक कदमको विरोधमा लागेको उनले बताए । सचिव कोइरालाले आफूलाई समेत केपी ओली पक्षले पदको लोभ देखाएको भन्दै आफू कहिल्यै पनि असत्यको पक्षधर नभएको स्पष्ट पारे ।

यस्तै लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमूनाले देशको बौद्धिक वर्गको रुपमा रहेको पत्रकारिता जगत नेपालको लामो राजीतिक इतिहासमा परिर्वतनको पक्षधर रहदै आएको बताइन् ।उनले अहिलेको प्रतिगमनका विरुद्धहरु पत्रकारहरुले तथ्यका आधारित रहेर कलम चलाउनु पर्ने बताइन् । सांसद केसीका अनुसार ओलीको निरंकुशता धेरै समय टिक्नेवाला छैन ।

अदालतले जनता र संविधानको मर्म अनुसार निर्णय गर्नेमा आफूहरु विस्वस्त रहेको उनको भनाइ थियो । यसैगरी उक्त अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)का लुम्बिनी प्रदेश सदस्य तथा यूवा नेता नरेन्द्र न्यौपानेले पुस ५ को निर्णय नेपालको कम्युनिष्ट आन्दोलन सिध्याउने कदम भएको बताए । उनले अहिले नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)मा वैचारिक लगाइँ भइरहेको भन्दै पदको लडाइँ नभएको बताए ।

दुई तिहाईको सरकारको नेतृत्व गरका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था माथि नै कु गरेको उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै प्रेस संगठनका नेताहरुले अहिलेको अवस्थामा ओलीको प्रतिगमन स्वीकार गर्न नसकिने बताएका थिए । उनका अनुसार संसद विघटन असंवैधानिक कदम हो । यसका विरुद्धमा सम्पूर्ण प्रगतीशील पत्रकारहरु एकजुट भएर व्यवस्था रक्षाको आन्दोलनमा सरिक हुन आह्वान गरिएको छ ।

भेलाको समापनको क्रममा प्रेस संगठन बाँकेका संयोजक डक्ट धितालले नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) को केन्द्रमा देखिएको विवाद बाँके जिल्लाको संगठनमा नदेखियोस भन्ने आशा गर्दागर्दै ओली पक्षमा लागेका पत्रकारहरुले समानान्तर कमिटी निर्माणमा लागेको बताए ।उनले प्रतिगमनको पक्षमा रहेका पत्रकारहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा पार्ने कोशिस भइरहेकोले आफ्नो विचारमा अडिक हुन सबैलाई उनले आग्रह गरेका हुन् । यस्तै शनिबार सम्पन्न भेलाले जिल्ला संगठनमा जिम्मेवारी थप गरेको छ ।

भेलाले पत्रकार राजेश आचार्यलाई सह–संयोजकमा चयन गरेको हो । यसअघि प्रेस संगठन बाँकेको सह–संयोजक हेमन्त विक थिए । उनी अर्कै संगठनमा आवद्ध भएपछि आचार्यलाई जिम्मेवारी दिइएको प्रेस संगठन नेपाल बाँकेले जनाएको छ । संयोजक डक्ट धितालले भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको बताए । उनका अनुसार शनिबार नयाँ पदाधिकारी चयन भएसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको हो ।

मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । यसैगरी संगठनको सुदृढिकरण र पत्रकारितामा लामो समयदेखि उल्लेख्य योगदान गर्दै आएको जनाउँदै संगठनले वरिष्ठ पत्रकारहरु गणेश जीसी, सिराज खान, अजय कुमार गुप्ता र भिम रावतलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार