कोहलपुर ।
बाँकेसहित देशभर विविध कार्यक्रम गरी ७० औं प्रजातन्त्र दिवस मनाइएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा शुक्रबार प्रजातन्त्र दिवस मनाइएको हो । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।
यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो । दिवसको अवसरमा नेपालगञ्ज उद्योग बाणिज्य संघले विरामीहरुलाई फलफुल वितरण ग¥यो । संघले दिवसको अवसर पारेर भेरी अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, संघका अध्यक्ष चुन्ना, प्रवक्ता टंक बहादुर धामी लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायतले बलिदानी दिएका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलन भयो ।
जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो । त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।










प्रतिक्रिया दिनुहोस्