वनमा बाघ देखिएपछि समुदायमा त्रास



शिवु खनाल  दाङ, ७ फागुन

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको चलखेल देखिन थालेपछि बाँके निकुञ्जसँग जोडिएको दाङको सिमाक्षेत्रमा बसोबास गर्ने स्थानीय त्रसित बन्दै गएका छन् । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने र छिमेकी बाँके निकुञ्जका सामुदायिक वनमा धमाधम बाघको चलखेल देखिन थालेपछि दाङको अमिलिया, हर्दवा, बांगेताल, च्याउ खोला, तरूलिया, कोल्तरा, तेलिया लगायतका गाउँका स्थानीयहरु त्रसित हुन थालेका हुन् ।

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको थियो । गत पुस १८ गते शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थल नजिकै फेला परेको थियो । शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलाली स्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो । बाघले अनुहार र देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको थियो ।

बाँके र बर्दिया जिल्लामा बाघले मान्छे खान थालेपछि बाँके र दाङको सिमाक्षेत्रमा रहेको शिवखोला देखि पूर्वतर्फ रहेका बस्तीमा त्रसितमय बन्दै गएको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी कृष्ण थापाले बताए । दाङको सिमाक्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । दुबै सामुदायिक वन खुला छन् । तारबार गरिएको छैन । जसले गर्दा निकुञ्जबाट पाटेबाघ आएर आक्रमण गर्न सक्ने भएकोले स्थानीयहरु त्रास भएको थापाको भनाइ छ । लमही नगरपालिका अन्र्तगत विभिन्न सामुदायिक वनमा विहानै बाघ देखिन थालेपछि स्थानीयहरु त्रसित बन्दै गएको लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी निरज केसीले जानकारी दिए ।

विरह सामुदायिक वन र मुल खोला सामुदायिक वनमा विहान स्याउला लिन गएको बेला वनमा पाटे बाघ फेला परेको उनले बताए । ‘कहिल्यै नदेखिएको सामुदायिक वनमा बाघ देखिन थालेपछि सबै त्रसित भएका छौ। विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घटेको छ। वनक्षेत्रमा समेत चहलपहल घटेको छ।’ एनले भने ।

उनका अनुसार तरूलिया, हर्दवा, च्याउ खोला, कोल्तरा लगायतका गाउँका विद्यार्थी बाघको डरले विद्यालयमा जान सकिएका छैनन् । त्यस क्षेत्रका विद्यार्थीहरुलाई दुई किलोमिटर वनको बाटो पैदल हिडेर विद्यालय जानुपर्ने बाध्यता छ । सामुदायिक वनहरुमा बाघ देखिन थालेपछि अभिभावकहरुले विद्यार्थीलाई विद्यालयमा जान दिएका छैनन् । सामुदायिक वनमा बाघ देखिन थालेपछि दैनिक प्रयोग हुने बाटोहरु बाघको डरले स्थानीयहरुले उक्त बाटोमा हिड्न छाडेको उनको भनाइ थियो ।

बाघ फेला परेको स्थानमा सम्बिन्धत निकायले क्यामरा जडान गरेर तुरुन्तै बाघलाई नियन्त्रणमा लिएर आरक्षमा लैजान स्थानीयले माग रहेका छन् । वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जिवी खनाल जिल्ला वन कार्यालयबाट पत्र काटेर वन्यजन्तु प्राविधिक बोलाइ बाघलाई तुरन्तै नियन्त्रणमा दिन सकिने बताउँछन् । यस्तै डिभिजन वन कार्यालका सूचना अधिकारी प्रेमिलाल साहले सामुदायिक वनहरुमा बाघ देखिनु भनेको बाघको संख्यामा वृद्धि हुनु र राम्रो पक्ष रहेको बताए ।

उनले भने,–। ‘वनमा बाघ देखिनु राम्रो पक्ष हो तर, गाउँ बस्ती व्यवस्थापनमा चुनौती थपिनु हो । कती बेला बाघ सक्रिय हुन्छ, त्योबेलामा हिडडुलमा रोक लगाएर गाउँमा जनचेतना मुलक कार्यक्रमहरु संचालनगर्न सकिने र मानवीय क्षती हुनबाट जोगाउन सकिन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार