कोहलपुर
पाँचौँ निर्वाचन दिवस–२०७७ को अवसरमा बाँकेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा बिहीबार नेपालगञ्जमा राजनीतिक दल तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिकाको विषयमा समेत व्यापक छलफल भएको थियो ।
यसपटकको दिवसको नारा ‘निर्वाचनमा सबै, सधै र सँगै’ भन्ने रहेको छ । नेपालमा पहिलोपटक २००७ साल फागुन ७ गते पहिलोपटक निर्वाचन भएको सम्झनामा सरकारले २०७३ सालदेखि दिवस मनाउँदै आएको छ । अहिले देशभर पाँचौ निर्वाचन दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । बाँकेमा पनि ६, ७ र ८ गते विभिन्न कार्यक्रम हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । दिवसको कार्यक्रम अन्तर्गत नै बिहीबार जिल्लास्थित सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
सरकारले आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । सोही अनुसार अहिले देशभर निर्वाचनका गतिविधि भइरहेका छन् । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले अन्तरक्रियाको अवसरमा निर्वाचन आयोेग अहिले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनको लागि सक्रिय रहेको बताए । उनका अनुसार अहिले विगतका कमीकमजोरीहरुलाई सच्चाएर निर्वाचनलाई कम खर्चमा सम्पन्न गर्नको लागि निर्वाचन आचारसंहिता संशोधन गरिएको छ । त्यसको लागि निर्वाचन आचारसंहिताको लागि ७७ वटा मस्यौदा, ५ वटा रणनीति, ५३ वटा कार्यविधि लगायतका कानुनहरुमा उल्लेख गरिएको छ ।
यस्तै निर्वाचन आचारसंहिताका बारेमा पाँच वर्षे रणनीति समेत बनाइएको उनले बताए । उक्त अवसरमा सुवेदीले निर्वाचन आचारसंहितामा भएका नीति तथा नियमका विषयमा जानकारी गराएका थिए । उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्वले निर्वाचन सफल गराउन सबैको भूमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार सरकारले तोकेको निर्वाचनलाई सफल बनाउनको लागि सबै नागरिकले भूमिका खेल्नुपर्छ । यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । सरकारले तोकेको निर्वाचन समय मै सम्पन्न हुने उनको भनाइ छ । अन्तरक्रियामा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्