डिल्ली शाही, शुभाकर विश्वकर्मा कोहलपुर
कोहलपुर नगरपालिका वडा नम्बर ११ को टाउन प्लानिङ क्षेत्रमै अलकत्रा बिना मध्यरातमा सडक पीच गरिएपछि स्थानीयले अवरोध गरेका छन् । इन्जिनियर र स्थानीयहरुको आग्रहलाई बेवास्ता गर्दै निर्माण व्यवसायीले मनोमानी रुपमा मध्यराती गुणस्तरहीन पीच गरेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।
वडा नम्बर ११ को कोहलपुर माध्यमिक विद्यालय क्षेत्रको सडक क्षेत्रमा मध्यरातमा लुकीछिपी अलकत्राको प्रयोग बिनै पीच गरिएको थियो । सडक स्तरोन्नतीको लागि पीच गर्ने जिम्मा लिएका निर्माण व्यवसायी राम जी यादवले मनोमानी रुपमा काम गरेको स्थानीयहरुले बताएका छन् । उक्त क्षेत्रका स्थानीयहरुका अनुसार दीर्घकालीन विकासको रुपमा रहेको सडकमा गुणस्तरहीन र मापदण्ड विपरीत काम भएको भन्दै अवरोध गरिएको हो । विकास हुनु राम्रो कुरा भएपनि गुणस्तरहीन काम गर्नेलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
स्थानीय इन्द्र पंगेनीले राती ११ बजेतिर काम गर्न आउँदा आफूहरुले काम रोक्न आग्रह गर्दापनि निर्माण व्यवसायीले अटेर गरेको बताए । उनले आफूहरुले आग्रह गर्दा समेत काम रोक्ने सुरसार नदेखाएपछि बाटोमा टायर फालेर अवरोध गर्नु परेको बताए । उनीहरुले शुक्रबार दिउँसो पनि थप काम गर्न आएका निर्माण व्यवसायीलाई काम गर्न दिएनन् । उनी भन्छन्,‘दिउँसो यहीँ क्षेत्रमा काम भइरहेको थियो । राती पीच गर्नको लागि आएका थिए । आधा क्षेत्रमा पीच पनि गरे । मैले थाहा पाएपछि सबैलाई जानकारी गराए । राती काम नगर्न हामीले आग्रह ग¥यौ । पछि अवरोध नै गर्नुपर्ने भयो ।’
उनले सडक मापदण्ड अनुसार नबनेको समेत बताए । निर्देशन विपरीत काम गर्नेलाई कारबाहीका साथै पुनःउक्त क्षेत्रमा अलकत्रा सहित गुणस्तरयुक्त काम हुनुपर्ने उनको भनाई छ । अर्का स्थानीय प्रकाश लामिछाने सडकको कुनै पनि ठाउँमा अलकत्राको प्रयोग नभएको बताउँछन् । ‘जनतालाई ढाट्नुको पनि हद हुन्छ । राती मानिसहरु सुतिरहेको बेला आएर पीच गर्ने ? अब हामी काम गर्न दिदैनौ । अब गुणस्तरयुक्त पीच हुनैपर्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । पीच चार इन्च हुनुपर्ने भएपनि लेवल समेत मिलेको छैन । बिहीबार राती गरिएको पीच शुक्रबार दिउँसो नै उप्किएको छ ।
स्थानीयहरुले बेल्चाले खन्दा समेत अलकत्रा हालेको पाइएन । स्थानीय अशोक खड्काका अनुसार अब गुणस्तरयुक्त काम नभएसम्म थप काम गर्न दिइने छैन । यता नगरविकास समितिका सुपरभाइजरले समेत साँझ ६ बजेभन्दा पछि काम नगर्न आग्रह गरेपनि निर्माण व्यवसायीले अटेरी गरेको बताउँछन् ।
सुपरभाइजर जीवन खड्काले इन्जिनियरले नै रातीको समयमा काम नगर्न भनेको र ठेकेदारले गरेको काम गुणस्तर युक्त नभएको बताए । उनले सडक पीच हुनको लागि मापदण्ड पुरा गर्नुका साथै अलकत्रा सहित अन्य सामग्रीको प्रयोग अनिवार्य हुन्छ । तर राती काम गर्दा ती कुराकोे प्रयोग भएको छैन । आफूहरुको काम साइट हेर्ने मात्रै भएकोले निर्माण व्यवसायीलाई निर्देशन दिन नमिल्ने उनले बताए ।‘यहाँको गुणस्तरको लागि हुनुपर्ने चिप्सवाला गिट्टी हो ।इन्जिजियर साबले समेत अहिले प्रयोग भएको गिट्टी हुन्न भन्नु भएको हो । उहाँले मान्नुभएन ।’ उनी भन्छन् ।
उक्त सडकको ठेक्का कान्छाराम कन्ट्रक्सनले जिम्मा लिएको थियो । सोही ठेक्का अनुरुप कोहलपुरको सडक निर्माणका लागि भने राम जी यादवले निर्माणको जिम्मा लिएका छन् । उनले स्थानीय सँगको कुाकानीको क्रममा राती काम गरेको स्वीकार गरेका छन् । काम राम्रो नभएको भए सुधार गर्न आफू तयार भएको उनको भनाई छ । तर मिसन टुडेले फोन गर्दा उनी सम्पर्कमा आएनन् ।
यता नगर विकास समितिका इन्जिनियर गणेश शाह आफूहरुले ६ बजेपछि काम नगर्न भनेको बताए । उनले नगर विकासको समितिको निर्देशन विपरीत जर्वरजस्ती काम भएको पनि जानकारी दिए ।‘गुनासो आएको छ । हामी चेक गर्छौ । स्पष्टिकरण समेत सोध्ने तयारी भइरहेको छ ।कस्तो जवाफ आउछ । सोही अनुसार अघि बढ्छौ ।’ इन्जिनियर शाहले भने ।









प्रतिक्रिया दिनुहोस्