20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

छाँयाका फूलहरु : प्रेरणादायी करिमदिन मियाँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ ३०, २०७७  

अनुपम के. सी.

तील चामले चुस्स परेको दारी । एउटा मात्र हात । त्यही एउटै हातले चलाइरहने उही पुरानो साइकल । अगाडि र पछाडि स–साना झोला र बोरीका थैला । प्याक गरिएका ल्वाङ, सुकमेल, जीरा, बेसार र सुपारीका प्याकेटहरु । यही चिनारी हो उसको । अर्थात कोहलपुर नगरपालिका वडा नम्बर ४ किरणनाला बस्ने ५६ वर्षीय करिमदिन मियाँ ।

११ जनाको परिवार पाल्ने जिम्मेवारी छ उनको काँधमा । बिहानको घामको झुल्कोसँगै उनको दैनिकी शुरु हुन्छ । साँझ सबेरसम्म काममा व्यस्त हुन्छन्, उनी । कोहलपुरका कुना–कुना सम्म त्यही साइकलमा मसलाजन्य पोका बिक्री गर्छन् । उनी भन्छन्, ‘यही काम गर्दागर्दै जोवन ढल्केको थाहै भएन । तर अहिले पनि साहस अझै टुटिसकेको छ । जाँगरपनि मरेको छैन । काममा व्यस्त हुँदा दिन ढल्केको पनि थाहै पाउँदिन ।’ शुरुमा सामान्य मानिस जस्तै देखिने करिमसँग कुरा गर्दै जाँदापछि मात्र हात नभएको थाहा हुन्छ । उनी शारिरीक अपांगता भएका व्यक्ति समेत हुन् ।

‘जन्मिएपछि आजसम्म सुख के हो थाहा छैन ।’ उनी भावुक हुँदै सुनाउँछन् । उनी सल्यानको छाया छत्रमा जन्मिएका हुन् । करिमले सात वर्षको उमेर मै आमा गुमाए । त्यति बेला साँझ विहान खाना र लाउन निकै धौधौ हुने गरेको उनको भनाइ छ । पेटभरी खान र एक सरो लाउने सपना बोकेर उनको परिवार बाँकेमा झरेको थियो । उनका बुवा आज भन्दा चार दशक अघि कचनापुरमा बसाई गरेका थिए ।११ वर्षको उमेरमा बाँकेमा आएका उनको जिन्दगी यतै बितिरहेको छ । आमाको निधनपछि बुवाले २ बहिनी र ३ भाइलाई साथमा लिएर कचनापुर झरेको सम्झन्छन् उनी ।

मनभरी सुन्दर सपना बोकेर मियाँ परिवार बसाई त स¥यो तर सपना भने सधै अधुरा नै भए । दैनिक मजदुरी गर्नु पर्ने, जंगलको बास अनि जनावरको त्रास । ‘मरी मरी काम गर्दा पनि कहिले काही त भोकै सुत्नुपर्ने’ पुराना कहाली लाग्दा दिन सम्झन्छन् उनी । ‘जुन आशा थियो, त्यो बिलायो ।कनचनापुरमा भाई बैनीको उमेर मात्र बढिरहेको थिएन, खर्च पनि बढिरहेको थियो । यसैले हाम्रो परिवार कचनापुर छोडी पुनः कोहलपुरमा बसाई स¥यो । उनी आफ्नो विवशता सुनाउँछन् ।

कोहलपुरको नयाँ परिवेश । अपरिचित समाज । सीप बिनाको कामको खोजी । कतै कचनापुर छोडेर गल्ती त गरिएन भन्ने पनि लाग्यो उनलाई पहिला । अरुको काम खोजी हिड्नु भन्दा आँफै पो केही गर्ने कि भन्ने कुराले मनमा घर बनायो । आफै त गर्ने तर ठूलो लगानी गर्ने क्षमता पनि त थिएन । सानो लगानीमा पनि गर्न सकिने देखेर अहिलेको व्यवसाय छानियो । संयोग नै भनौ सोचे भन्दा राम्रो भयो । मसला जन्य घुम्ती व्यवसायले हौसला थपिदियो उनलाई । परिवारमा केही सहजता भयो । अ त केही राम्रो जिन्दगी बाँच्न सकिन्छ कि भन्ने आशा पलायो ।

हौसलाले मानिसलाई उर्जा दिदो रहेछ ।

उनी आफ्नो खुशीको क्षण सुनाउँछन । साइकलमा गरिने मसला व्यवसायमा कहिले उनी पश्चिमको महेन्द्रनगर पुग्थे भने कहिले दाङको लमहीमा भेटिन्थे । हुम्ला, जुम्ला, अछाम जिल्लामा समेत उनको व्यवसाय बढ्न लाग्यो । अब त सुखका दिन आउँछन होला भन्ने विस्वास पलायो ।

सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी । दुर्घटना बाजा बजाएर आउदैन भन्ने कुरा सुनेका थिए मियाँले । तर आफू नै त्यसको शिकार हुनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । तर भइदियो त्यस्तै । सहज हुँदै गइरहेको दैनिक जीवनमा एक्कासी ठूलो बज्रपात प¥यो । उनी दुर्घटनामा परे । बायाँ हात काट्नु पर्ने भयो । मेरो आधा जीवन यही सकियो भन्ने लाग्यो । हात काटिसकेपछि होसमा आउँदाको सम्झना गर्दछन् उनी । अाखिर जीवन त जिउनु नै थियो । फेरी उनी आफू मात्र एक्लै पो कहाँ थिए र । उनीमाथि आश्रित परिवार थियो । समाजमा उनी मात्र एक्ला अपांग पनि त होइनन् । आफूले वरिपरी देखेका अपांगहरुले पनि काम गरेको देखेका थिए । यस्तै कुराले केही गर्न सक्छु भन्ने आशा जगायो । उनी पुरानै कामलाई निरन्तरता दिने निर्णयमा पुगे । उनको जाँगरको अगाडि शारिरीक असक्ततताले हार खायो ।

आजसम्म आइपुग्दा जिन्दगीले अनेकौ पटक आफूसँग अन्तरवार्ता लिएको उनको भनाइ छ । तर उनी जिन्दगीलाई जित्दै गए ।यसैले त दैनिक ५५ देखि ६० किलोमिटर एउटै हातले साइकल चलाएर आफ्नो परिवार पालेका छन् । मसला पोको पार्दा घरका सदस्यले सघाउँछन् । आफूले गरेको कमाइले स–साना बाबु,नानी विद्यालय गएको देख्दा मनमा गर्व जाग्दछ ।‘दिन भरीको काम, आनन्दको निद्रा । रमाइलो छ जीवन । यो देखेर धेरैले हौसला पनि दिन्छन् ।’अनुहार चम्किलो बनाउदै उनी सुनाउँछन् ।

कसैले सहयोग पनि गरेको छ कि भन्ने प्रश्नको जवाफमा कसैले नगरेको कुरा सुनाउँदै उनी भन्छन्, ‘सहयोगको ठूलो आाशा पनि गरेको छैन । आफ्नो कमाइले घर खर्च धान्न ठीक्क छ । एउटा प्लाष्टिकको हात फेर्न पाए साइकल चलाउन सजिलो हुने थियो । पुनर्जीवन पाउने थिएँ ।’ उनको जिन्दगी वास्तव मै प्रेरणादायी छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ३०, २०७७     6:45:31 AM  |