चुनाव लक्षित सुरक्षा योजना बनाइदैं



दाङ ।

दाङको घोराहीमा बुधबार लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया सम्पन्न भएको हो । गोष्ठिमा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी बाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सरकारले आगामी बैशाख १७ र २७ गते तोकेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर लुम्बिनी प्रदेशमा सुरक्षा सर्तकता बढाउनेबारे छलफल भएको बताइएको छ । लुम्बिनी प्रदेशको शान्ति सुरक्षा तथा आगामी बैशाखमा हुने निर्वाचनलाई लिएर प्रदेशका सुरक्षा अधिकारीहरुले आफ्ना भनाई राखेका थिए । सुरक्षा गोष्ठि तथा भेलामा सम्मलित सुरक्षा संयन्त्रका प्रमुखहरुले प्रदेशको समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्यूनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सूचना आदान–प्रदान गर्नुका साथै समन्वयात्मक भूमिकाको बारेमा छलफल भएको थियो ।

सबै निकायका सुरक्षा अधिकारीहरुले चुनाव लक्षित सुरक्षा योजना बनाएर सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । लुम्बिनी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले गोष्ठिमा सरकारले तोकेको प्रतिनिधिसभाको निर्वाचन कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए । ‘आउँदो चुनाव तथा समसामयिक विषयमा छलफल भएको थियो’ उनले भने, ‘अब चुनाव लक्षित सुरक्षा योजना बनाउनेबारे छलफल समेत भयो ।’

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार