पछिल्लो ७ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा ५ सय ८४ वटा उजुरी परेका छन् । चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा कार्यालयमा ५ सय ८४ वटा भ्रष्टाचारका उजुरी परेका हुन् ।
आयोगको ३० औं स्थापना दिवसका अवसरमा मंगलबार कार्यालयले पत्रकार भेटघाट गरेर सो बारे जानकारी दिएको हो । बाँके, बर्दिया र दाङ जिल्लामा कार्य क्षेत्र रहेको आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ५ सय ७५ उजुरी दर्ता भएका थिए ।
चालू आर्थिक वर्षको ७ महिनामा मात्रै गत आर्थिक वर्षभन्दा बढि उजुरी परेको कार्यालय प्रमुख भेषराज रिजालले जानकारी दिए । ‘हाम्रो कार्यालयमा खासगरी भ्रष्टाचारसँग सम्बन्धित रहेर धेरै उजुरीहरु पर्ने गरेका छन्’ उनले भने, ‘चालू आर्थिक वर्षको अहिलेसम्म ५ सय ८४ वटा उजुरीहरु कार्यालयमा परिसके ।’
उक्त अवसरमा सम्पर्क कार्यालय नेपालगन्जले अहिलेसम्म गरेका र अब गर्ने कार्य सम्पादनको विवरण प्रस्तुत गरिएको थियो । चालू आर्थिक वर्षमा सम्पर्क कार्यालय नेपालगन्जले आफ्नो कार्यक्षेत्रमा ३ वटा मात्र स्टिङ अपरेशन गरेको जनाएको छ । त्यसमध्ये बाँकेमा २ वटा र दाङमा १ वटा स्टिङ अपरेशन गरिएको थियो ।
उक्त स्टिङ अपरेशनबाट ७ जना पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ६ वटा स्टिङ अपरेशन गरेको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा आर्थिक वर्ष २०७५/०७६ मा परेका ५ सय ४२ उजुरीमध्ये ३ सय १६ वटा उजुरीहरु किनारा लगाइएको थियो । तीमध्ये २ सय २६ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका थिए । अघिल्लो आर्थिक वर्षमा परेका ५ सय ७५ उजुरीमध्ये २ सय ५५ मात्र फछ्र्योट भएको कार्यालयले जनाएको छ । सो वर्ष समेत ३ सय २० उजुरी बाँकी रहेका थिए ।
हालसम्मको प्रगति विवरण ३१.९७ प्रतिशत रहेको सम्पर्क कार्यालयका प्रमुख रिजालले जानकारी दिए । पछिल्लो समय उजुरीको परेको संख्या हेर्दा सबैभन्दा बढी स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमी प्रशासन सम्बन्धि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्