लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप, लक्ष्यको ८४ प्रतिशतले लगाए



कोहलपुर ।

लुम्बिनी प्रदेशमा कोरोना भाइरस विरुद्ध पहिलो चरणमा २८ हजार ९ सय ५१ जनाले खोप लगाएका छन् । गत माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान २४ गते सकिएको थियो । यो अवधिमा प्रदेशका ७ वटा जिल्लामा लक्ष्यभन्दा धेरै कमले कोरोना विरुद्धको खोप लगाएको पाइएको छ । लक्ष्य लिएकामध्ये ८४ प्रतिशतले मात्रै खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । प्रदेशमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको थियो ।

यो लक्ष्य लिएमध्ये खोप लगाउने यो संख्या ८४ प्रतिशत मात्रै रहेको छ । प्रदेशका १२ जिल्ला मध्ये ७ वटामा लक्ष्यभन्दा कमले खोप लगाएका छन् भने ५ वटा जिल्लामा लक्ष्यभन्दा बढिले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको बढि प्रभाव देखिएको रूपन्देही, बाँके, बर्दियासँगै अर्घाखाँची, रोल्पा, गुल्मी र पूर्वी रूकुममा लक्ष्य भन्दा कमले खोप लगाएका छन् । प्रदेशमा सबैभन्दा कम बाँकेमा जम्मा ६५ प्रतिशतले पहिलो चरणको खोप लगाएको पाइएको छ । बाँकेमा ७ हजार ७ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेकोमा ४ हजार ९ सय ६७ जना मात्र खोप लगाएका थिए । त्यस्तै कोरोना संक्रमणको धेरै जोखिम रहेको रूपन्देहीमा पनि लक्ष्यभन्दा ३३ प्रतिशत कमले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले बताए ।

‘रूपन्देहीमा १० हजार १ सय ५३ जनालाई खोप लगाउने लक्ष्य लिएको भए पनि ६ हजार ७ सय ९१ जनाले मात्र खोप लगाए’ उनले भने, ‘३ हजार ३ सय ६२ जना खोप लगाउन आएनन् ।’ त्यसैगरि अर्घाखाँचीमा ६९ प्रतिशत, पूर्वी रूकुममा ८२ प्रतिशत, रोल्पामा ९१ प्रतिशत, बर्दियामा ९८ प्रतिशत र गुल्मीमा ९३ प्रतिशतले खोप लगाएको उनले जानकारी दिए । त्यस्तै कोरोनाको बढि प्रभाव देखिएको दाङ र कपिलवस्तुसँगै पाल्पा, पश्चिम नवलपरासी र प्यूठानमा लक्ष्य भन्दा बढीले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दाङमा २ हजार ९ सय ७० जनाले खोप लगाउने लक्ष्य लिएकोमा ३ हजार ५ सय ४६ जनाले खोप लगाएका छन् ।

त्यस्तै पाल्पामा पनि २ हजार ७ सय १२ जनाले खोप लगाएका छन् । पाल्पामा २ हजार ४ सय ६० जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । ‘कतिपय जिल्लामा थोरै र कतिपय जिल्लामा धेरै लक्ष्य निर्धारण गरिएकोले लक्ष्य भन्दा धेरै र थोरै खोप लगाएको देखिएको हो’ स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले भने, ‘खोप लगाउनुपर्नेहरु डराएर नभई जिल्लाहरुले लक्ष्य तोक्दा नै बढि र कम तोकेर पठाउंदा लक्ष्य भन्दा तलमाथी भएको देखियो ।’ भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभशिल्ड खोपमध्ये लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई २ डोज पुग्ने गरि ८ हजार ७ सय ६८ भाईल खोप आएको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका र कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिनेहरुलाई प्राथमिकता दिईएको थियो । सोहि अनुरुप १४ गतेदेखि २४ गतेसम्म सम्बन्धित जिल्ला अस्पताल तथा तोकिएका खोप केन्द्र मार्फत खोप लगाईएको थियो । पहिलो चरणमा खोप लगाएकाहरुलाई पुनः एक महिनापछि दोस्रो डोज खोप लगाईने छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार