‘स्वच्छ,निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड’



शुभाकर विश्वकर्मा, कोहलपुर

राज्यको चौथो अंगको रुपमा गनिने पत्रकारिता जगत स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गाउँ, समाज र राष्ट्रमा हुने गरेका हरेक गतिविधिहरुको स्वतन्त्र र निष्पक्ष रुपमा जस्ताको त्यस्तै बाहिर ल्याउने काम र कर्तव्य पत्रकारिता जगतको रहेको उनीहरुको बताएका हुन् ।

शनिबार कोहलपुरमा आयोजित नेपाल पत्रकार महासंघ शाखा बाँकेको १२ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरुले देशको परिवर्तित स्थितिमा मिडिया पक्ष र विपक्षमा नभइ तठस्थ हुनुपर्नेमा जोड दिएका थिए । नेपालका विभिन्न राजनीतिक, साँस्कृतिक तथा सामाजिक आन्दोलनमा पत्रकारिता जगतको भूमिका अविस्मरणीय भएको भन्दै आगामी दिनमा पनि देशm व्यवस्था र जनताको अधिकारको प्राप्तिको लागि सदाबहार स्वतन्त्र रुपमा लाग्नु पर्ने उनीहरुको भनाइ थियो ।उक्त अवसरमा बोल्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराज ‘अथक’ले बाँकेको पत्रकारिताको इतिहास गर्विलो र स्वर्णीम रहेको बताए ।

नेपालको लोकतान्त्रिक र निरंकुशता विरुद्धको आन्दोलनमा यहाँका पत्रकारहरुले खेलेको भूमिका कहिल्यै बिर्सन नसकिने उनले बताए । सांसद अथकका अनुसार वर्तमान सरकारले गरेको असंवैधानिक कदमका विरुद्ध पनि मिडियाले बारम्बार खबरदारी गरिरहेको छ । ‘ कहिलेको कदम, जनताको बलिदानबाट प्राप्त अधिकार खोस्ने, व्यवस्था मास्ने खालको छ । त्यसैले मिडियाको तर्फबाट निरन्तर खबरदारी आवश्यक छ ।’ उनले भने ।१२ बुदेँ समझदारी हुँदा पछि अन्यौलग्रस्त स्थितिमा पश्चिम नेपालमा मोर्चाबन्दीका लागि राजनीतिक दलले गरेको सम्झौतालाई आम रुपमा पु¥याउन यहाँका मिडियाकर्मीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै अथकले अहिले पनि निष्पक्ष रुपमा कलम चलाउनेमा आफू विस्वस्त रहेको बताए ।

यस्तै उनले पछिल्लो राजनीतिक घटनाक्रमले जनतामा निराशा छाएको भन्दै वर्तमान शासकका तानाशाही कदमका विरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताएका थिए । यस्तै उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्वस्छ र सिर्जनशिल पत्रकारितामा जोड दिइन् । उनका अनुसार विभिन्न राजनीतिक आन्दोलनमा मिडियाको भूमिका अहम रहेको भन्दै कोरोना महामारीमा समेत एकदमै प्रभावकारी भूमिका रहयो । उनी भन्छिन्,‘प्रदेश सरकारले गरेका राम्रा र नराम्रा कामको मिडियाले वाच गरिहेको छ । हामीले पनि मिडियाको विकासको लागि काम गरिरहेका छौ ।

प्रदेश मिडियामैत्री छ । ’ यस्तै उनले देशको राजनीतिक परिस्थतिसँग मिडियाको पनि सरोकार रहने भएकोले निष्पक्ष ढंगले कलम चलाउन सबैलाई आग्रह गरिन् । यस्तै लुम्बिनी प्रदेशकी प्रदेश सभा सांसद कृष्णा केसी ‘नमूना’ले स्वच्छ पत्रकारितामा जोड दिइन् । उनका अनुसार पत्रकारहरुले समाजमा लुकेर रहेको कुराहरु जनताको माझ ल्याउनुपर्छ । पत्रकार हुनै विचार, सिद्धान्त र दलको प्रतिनिधि नभएर देश र जनताको प्रतिनिधि हुनुपर्ने उनको भनाइ थियो । ‘पत्रकारले सधै न्यायको पक्ष लिनुपर्छ । पक्ष र विपक्षमा विभाजित हुनुहुदैन ।अधिबेशनबाट पत्रकारिता थप मजबुत हुने विस्वास लिएको छु ।’ प्रदेश सांसद केसीले भनिन् ।

अग्रज पत्रकारलाई सम्मान

नेपाल पत्रकार महासंघ शाखा बाँकेको १२ औँ अधिबेशनको अवसरमा जिल्लामा लामो समयसम्म पत्रकारिता गरेका अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।६० वर्ष नाघेका तथा पत्रकारिताको माध्यमबाट योगदान गरेका अग्रह पत्रकारहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ शाखा बाँकेका संस्थापक अध्यक्ष ल्याकत अलि सहित अन्य पत्रकार रहेका छन् । संस्थापक अध्यक्ष अलि सहित अग्रज पत्रकारहरु गणेश जिसी, पुर्णलाल चुके र बाँसुदेव श्रेष्ठलाई सम्मान गरिएको हो । यस्तै महासंघका पूर्ण अध्यक्षहरुलाई पनि मायाको चिनो सहित टोपी सहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा पूर्वअध्यक्षहरु रुद्र सुवेदी, झलक गैरे, जनक केसी लगायत रहेका छन् । यस्तै विभिन्न पेसागत संघ संगठनका जिल्ला अध्यक्षहरुलाई पनि मायाको चिनो हस्तान्त्रण गरिएको थियो । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेतले प्रदेश महासंघ जिल्ला शाखासँग समन्वय गर्नुका साथै कोरोनाको बेला ७ सय ४३ जनाको कोरोना बीमा गराएको बताए । उनका अनुसार अहिले सम्म चार जना पत्रकारहरुले कोरोना बीमा बापतको भुक्तानी प्राप्त गरिसकेका छन् । त्यसमा बाँकेका एक जना पत्रकारले कोरोना बीमा बापतको रकम प्राप्त गरिसकेको र एक जनाको प्रक्रियामा रहेको उनले बताए ।

उनका अनुसार प्रदेश कमिटीको पत्रकारहरुको हक र हितका लागि सक्रिय छ । यस्तै पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले पनि कोरोनाका कारण देशभरका पत्रकार महासंघका चुनावहरु रोकिएको बताए । उनका अनुसार कोरोना महामारीका बीच पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण छ । महासंघ सधैको लोकतन्त्र, जनहित र पत्रकारहरुको पेसागत हितका लागि लड्दै आइरहेको पनि उनले बताए । उक्त अवसरमा विभिन्न प्रतिवेदन पेस गरिएको थियो ।

प्रकाशित मिति : २०७७ पुस १९ गते आइतबार