सम्पादकीय : संसद पुनःस्थापना होला ?



के प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद पुनःस्थापना होला ? अचेल हरेक नेपालीले सोध्ने प्रश्न यही हो । पुस ५ को मन्त्रीपरिषद् बैठकबाट प्रतिनिधि सभा अर्थात संसद विघटनको निर्णयपछि नेपालको राजनीति खुबै तातिएको छ । यो कदमले एक प्रकारको राजनीतिक भुकम्प नै ल्याइदिएको छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको साझा थलो विघटन भएको छ । सरकार काम चलाउ भएको छ । सत्ताधारी नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको छ ।

अर्कातिर संसद पुनःस्थापनाको प्रश्नमा दुईथरी उत्तर पाइन्छन् । कोही भन्छन्, अदालतले संसद पुनःस्थापना गर्छ । कोही भन्छन्, अदालतले संसद पुनःस्थापना गर्दैन । यसमा उनीहरुका आ–आफ्नै विचार र तर्क छन् । पुनःस्थापना हुन्छ भन्नेहरुले देशको प्रचलित कानुन र संविधानको व्यवस्था अनुसार हुन्छ भनेका हुन् । किनभने नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन । नुनतःओलीको कदम असंवैधानिक हो । संसद विघटन गर्दा धारा ७६ को अपव्यख्या गरिएको छ । हुँदैन भन्नेहरुको तर्क छ, यो नेपाल हो । यहाँ जे पनि हुन्छ । विगतका नजिर छन्, सत्ताका पछि सबै निरिह हुन्छन् ।

कतिपय अवस्थामा न्यायपालिका समेत कार्यपालिकाको प्रभावमा परेको छ । सत्तामा रहनेले आफ्नो पक्षमा निर्णय गराउन र आफ्नो विजय गराउन जस्तो पनि हतकण्डा अपनाउँछन् । ओली यस्तो राजनीतिक पात्र हुन्, उनी कहिल्यै पनि आफू हार्न चाहदैनन् । अहिले उनकै कारण राजनीतिक अस्थिरता निम्तिएको छ । यो मुद्धा अहिले अदालतमा विचाराधिन भएकोले पनि विभिन्न तर्फबाट तर्क र वितर्क भइरहेका छन् । अब यसको लागि अदालतको निर्णय कुर्नु नै पर्छ । तर राजतीतिक रुपमा विभाजित भइसकेको नेकपाका पक्ष र विपक्षका तर्क सुन्दा राजनीति कति विकृत रहेछ भन्ने भ्रमबाट मुक्त हुन समय नै लाग्दैन । प्रधानमन्त्री पक्षले संसद विघटनलाई बाध्यात्मक कदम भएको र संविधानमा गरिएको व्यवस्था अनुसार नै भएको जिकिर गरिरहेका छन् । अर्काे पक्षले असंवैधानिक कदम भएको भन्दै सडक तताइरहेको र विरोध प्रदर्शन गरिरहेको अवस्था छ । उनीहरुबीच दल आधिकारिताको लडाइँ भइरहेको छ । यो विषय पनि निर्वाचन आयोगमा छ । यसको पनि कानुन अनुसार नै निर्णय होला । यर्थात के हो भने, यदि अदालतले संसद पुनःस्थापना गरेन भने देशमा अहिलेसम्म भएका उपलब्धि गुम्नेछन् । देश राजनीतिक अस्थिरता तर्फ उन्मुख हुनेछ । त्यसैले संसद पुनःस्थापना नै अहिलेको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १६ गते बिहीबार