30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता, सुदुरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

शिवु खनाल । दाङ ।

सुदुरपश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको सुदुरपश्चिमले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित
गरेको थियो ।

खेलमा सुदुरपश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी प्रदेशले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा नतिजा सुदुरपश्चिमले आफ्नो पक्षमा पार्न सफल भएको हो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडेकी थिइन् । बलिङमा सुदुरपश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ३६ बलको सामना गरेकी ओपनर ब्याटर रेवती धामीले २ चौकासहित २७ रन बनाएकी थिइन् ।

यस्तै रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३÷३ विकेट हात पार्न सफल भएकी थिइन् । भने अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन् ।

यस्तैगरी प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको प्रदेश २ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार भएको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित ग¥यो । खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन पुग्यो । बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन् ।

यी दुई ब्याटर बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन्, भने सबनम राई, अलिशा खाडिया र निशा शाहले पनि १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रदेश १ समुहले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन् ।

५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन् । यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन् ।

बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । भने कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १÷१ विकेट लिएकी थिइन् । अब प्रतियोगिता अन्तर्गत आज बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ । भने दिनको दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ ।

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     12:46:04 PM  |