बाँकेका तीन शहरमा संसद विघटनको विरोध कांग्रेसले प्रदर्शन गर्दै, सुरक्षा कडा पारियो



कोहलपुर ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज बाँकेसहित देशभर प्रदर्शन गर्दैछ ।

१६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

बाँकेको नेपालगन्जमा आज दिउँसो हुने विरोध सभालाई काँग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुरमा एकैसाथ संसद विघटनको विरोधमा प्रदर्शन हुनेछ । काँग्रेसको प्रदर्शनलाई मध्यनजर गरेर बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले राजनितिक दलहरुका प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १३ गते सोमबार