आईपीले छाडे बादलको साथ



कोहलपुर ।

बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आईपी) ले नेता रामबहादुर थापा (बादल)को साथ छाडेका छन् । सत्तारुढ दल नेकपामा देखिएको विभाजनसँगै उनले नेता बादलको साथ छोडेर प्रचण्ड–माधव समूहमै रहने बताएका हुन् । गृहमन्त्री समेत रहेका बादल प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागिसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी बाँकेका अध्यक्ष समेत रहेका प्रदेश सांसद आईपीले आफू प्रचण्ड–माधव समूहमै रहने मिसन टुडेलाई जानकारी दिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, प्रतिगामी र कम्युनिष्ट आन्दोलन विरोधी भएको आरोप प्रदेश सांसद आईपीले लगाए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबार नेता बादलको साथ छाडेको जानकारी गराएका हुन् । ‘साथीहरु लोभलालचमा नफसौं, सत्यको समर्थक बनौं, बादलजी तपाईसंग सम्बन्ध त तोडिन्न तर तपाईसँग सति जान सकिएन । तपाईको प्रगति होस्, अन्तिम सलाम’ उनले फेसबुकमा लेखेका छन् । बुधबारसम्म नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री बादल कुनै पनि पक्षमा प्रष्ट रुपमा खुलेका थिएनन् । बिहीबारबाट भने उनी औपचारिक रुपमा नै ओली समूहमा लागिसकेका छन् । गृहमन्त्री बादल बिहीबार बालुवाटारमा भएको नेकपा ओली समूहको केन्द्रिय समिति बैठकमा भाग लिन पुगेका हुन् ।

नेकपाको विभाजन प्रक्रिया हुँदै गर्दा बादल मात्रै ओली समूहमा लागेका छन् । बादल निकटका अन्य नेताहरुले भने साथ छाडेर प्रचण्ड–माधव समूहमा लागिसकेका छन् । बादल मात्र आफ्नो समूहबाट ओली समूहमा लाग्ने एक्लो हुन् । २०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजनामा मोहन वैद्यसँगै गएका बादल २०७२ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकता गरेका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपामा बादलको पूर्वसमूहका ३ दर्जन बढी नेता केन्द्रीय कमिटीमा रहेको बताइएको थियो । अन्य ३५ जना नेता भने प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।

बादल भने आफ्नै गुटका नेताको सुझाव नमानेर एक्लै ओली समूहतिर लागेका हुन् । नेकपाका अध्यक्ष दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षमा चौथो बरियता नपाएपछि उनी प्रधानमन्त्री ओलीको पक्षमा लागेको बताइन्छ । ओली समूहमा भने बादलले दोस्रो वा तेस्रो वरियता पाउने सम्भावना रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १० गते शुक्रबार