कोहलपुर ।
बाँके कोहलपुर नगरपालिकाले २९ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा उद्यमीहरुलाई सम्मान गरेको छ । अपांगता भएका र नगर क्षेत्रमा विभिन्न व्यवसाय गरिरहेका १५ जना उद्यमीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उनीहरुलाई अपांगताका बाबजुत पनि उद्यम गरेर उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको कोहलपुर नगरपालिका स्तरीय अपांगता समन्वय समितिले जनाएको छ । सोही अवसरमा १७ अति विपन्नलाई समेत न्यानो कपडा वितरण गरिएको छ । नगर स्तरीय अपांग समन्वय समितिकी अध्यक्ष समेत रहेकी उप प्रमुख सन्जुकुमारी चौधरी भन्छिन्, ‘दिवसको अवसरमा उद्यमीहरुलाई सम्मान गरेका छांै ।
अति विपन्न तथा कुनै पनि माध्यमबाट राहत नपाएकाहरुलाई पनि न्यानो कपडा प्रदान गरिएको छ ।’ उनका अनुसार अपांगता भएका व्यक्तिलाई दुव्र्यवहार गर्दिन भन्ने प्रतिबद्धतासहित हस्ताक्षर संकलन समेत गरिएको छ । देशभर झै कोहलपुरमा पनि २९ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस भव्य रुपमा मनाइएको हो ।
कर्मचारीलाई सम्मान
सि.जि.फुड्स बाँसगढी बर्दियाले २९ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा अपांगता भएका कर्मचारीहरुलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सि.जि.फुड्सले शारिरीक अपांगता भएका ६ जना कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।
कम्पनी प्रमुख श्री राजिव सिंह राजपुतले कर्मचारीहरुलाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको बताए । उनका अनुसार शारिरीक अपांगता भएका व्यक्तिहरु पनि समाजका अभिन्न अंग भएकाले उनीहरुलाई सधै माया र सम्मान गर्नुपर्छ । उनले अपांगता भएका व्यक्तिहरुलाई सबैले सदैब सकारात्मक व्यवहार गर्नुपर्नेमा समेत जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्