कोहलपुर ।
सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेशका पहाडी जिल्लामा ‘चालकसँग कुराकानी’ अभियान सुरु गरिएको छ । प्रदेशका पहाडी जिल्लामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले आइतबारबाट अभियानको सुरुवात गरेको हो ।
प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भइरहेकाले न्यूनिकरण गर्न अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए । उनका अनुसार अभियानमा चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पीड, मापसे चेकिङ प्रभावकारी गर्ने जस्ता कार्य गरिनेछ ।
‘दुर्घटनाको कारण र नियन्त्रणका उपायमा चालकको महत्वपुर्ण भूमिका रहन्छ’ प्रवक्ता एसएसपी बैदवारले, ‘सडक दुर्घटना न्यूनिकरण गर्न पहाडी जिल्लाहरूमा यो अभियान थालेका हौं ।’ अभियानमा प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयहरूले सवारी चालकहरूसँग भेटघाट, समस्या र दुर्घटना न्यूनिकरणमा चालकको भूमिकाबारे जानकारी गराइनेछ । आइतबारबाट सुरु भएको अभियान मंसिर ३० गतेसम्म चल्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्