चिनियाँ रक्षा मन्त्री आज नेपाल आउँदै



काठमाडौँ ।

चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे आइतबार नेपालको एक दिने भ्रमणमा आउँदै छन् ।

चिनियाँ रक्षामन्त्री फेङ्वे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउन लागेका उनले झण्डै घन्टा काठमाडौँमा बिताउने छन् ।

उनी विशेष विमानबाट बिहान ११ बजेतिर काठमाडौँ आइपुग्ने छन् । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर चिनियाँ रक्षा मन्त्री वेई आइतबार एक दिने भ्रमणका लागि नेपाल आउने औपचारिक जानकारी दिएको थियो ।

वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।

यस्तै उनले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ ।

चिनियाँ रक्षा मन्त्री वेई आइतबार बेलुका नै काठमाडौँबाट उड्ने छन् । पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन् ।

दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला शुक्रबार स्वदेश फर्किएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार