अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै दक्षिण कोरियामा एक युवकलाई अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ।
जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।
बिबिसीका अनुसार त्यस्ता च्याटरूम कम्तीमा १० हजार जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १ हजार २ सय अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।
उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए। यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ।
‘आरोपितले धेरै पीडितलाई फकाएर र धम्क्याएर बनाएको सामग्री व्यापक रूपमा वितरण गरेका छन्,’ सोलको एउटा अदालतले भनेको योन्हाप समाचारसंस्थाले जनाएको छ।
जोले बालबालिकालाई यौन शोषणबाट जोगाउने कानुन उल्लङ्घन गरेको तथा नाफा कमाउन आपत्तिजनक भिडियो बनाउने र बेच्ने आपराधिक गिरोह सञ्चालन गरेको ठहर जिल्ला अदालतले गरेको थियो।
धाकधम्की दिएर हात पारेका भिडियोहरू उनको गिरोहले टेलिग्राम एपका गोप्य च्याटरूममार्फत् बेच्ने गरेका बिबिसीले जनाएको छ । यो मुद्दाले दक्षिण कोरियामा ठूलो आक्रोश उत्पन्न गराएको थियो।