कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ८ हजार ३२ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ६९ मा संक्रमित पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६ सय ९९ रहेको थियो । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १ हजार ३ सय २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
आइतबार पछिल्लो २४ घण्टासम्म देशभर १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यसैगरी, प्रदेश १ मा एक हजार ५३८, प्रदेश २ मा ३०९, गण्डकी प्रदेशमा एक हजार ३०, लुम्बिनी प्रदेशमा ७७१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । कर्णाली प्रदेशमा ९० जना र सुदूरपश्चिम प्रदेशमा ८४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच देशभर ४२५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड–१९ अस्पतालमा ३५९ जना संक्रमित आइसियु र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा १४२ जना आइसियु र ३८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी, प्रदेश १ मा ४५ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ जना आइसियु र १४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ५८ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १२ जना आइसियुमा र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमित भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्