मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६ सतहरिया गाउँमा स्मार्ट कृषि गाउँको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँको उद्घाटन गरेकी थिइन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन लुम्बिनी प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम सतहरियामा पनि लागू गरिएको हो । उद्घाटन समारोहमा बोल्दै मन्त्रि पौडेलले अबदेखि स्मार्ट कृषि गाउँमा जमिन बाँझो राख्न नपाइने बताइन् ।
‘स्मार्ट कृषि गाउँ निर्माणको लागि एक प्राविधिक, स्मार्ट सिँचाई, स्मार्ट बजार, स्मार्ट प्रविधि, स्मार्ट खाद्य व्यवस्थापन लगायतका सुविधा गरी गाउँलाई नै कृषि स्मार्ट गाउँ बनाउने हाम्रो योजना हो’ उनले भनिन्, ‘तपाईहरु कसैले पनि अबदेखि जमिन बाँझो नराख्नुहोला ।’ कृषहरुलाई आत्मनिर्भर बनाउन आधुनिकीरण र व्यवसायिककरण गर्न स्मार्ट कृषि गाउँको अवधारणा ल्याएको उनले दाबी गरिन् । कृषिमा नमुना गाउँ बनाउने उद्देश्यले किसानहरुको लागि ब्याज तिर्न अनुदान, कृषि मजदुुर अनुदान र हरेक पालिकामा कोसेली घर बनाउने कार्यक्रम रहेको मन्त्रि पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले नगरपालिकाले आफ्ना सबै नागरिकहरुलाई उत्पादनसँग जोड्ने उद्देश्य लिएको बताए । ‘हामीले नागरिकहरुलाई उत्पादनसँग जोड्नको लागि विभिन्न नीति अबलम्बन गरेका छौं’ उनले भने, ‘उत्पादनसँग जोड्न यान्त्रिकीकरणको भरपूर सहयोग लिएर आधुनिक कृषि प्रणालीलाई विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’ एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले स्मार्ट कृषि गाउँको लागि प्रदेश सरकारबाट ५० लाख बजेट छुट्याइएको जानकारी दिए ।
‘पहिले वर्ष प्रदेश सरकारले स्मार्ट कृषि गाउँको लागि ५० लाख छुट्याउँछ’ उनले भने, ‘पछि विस्तारै प्रदेश सरकारले स्मार्ट गाउँलाई बजेट घटाउँदै लैजान्छ ।’ सतहरिया स्मार्ट कृषि समुहका अध्यक्ष सुमित्रा चौधरीले यो कार्यक्रमले किसानहरुको जिवनस्तर माथि उकास्न ठूलो मद्धत पु¥याउने आशा लिइन् । स्मार्ट कृषि गाउँ कार्यक्रममा प्रदेश सासंद कविराम थारु, बाँसगढी नगर उपप्रमुख सुस्मा चौधरी, स्थानीय जनप्रतिनिधि, कृषक समूह लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्