25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘लक्ष्मी’को असफलताले डिजिटल प्लेटफर्ममा धक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७  

७ महिनादेखि बन्द रहेका भारतका हलहरु एक महिना अगाडि सुचारु भए । तर, हलमा दर्शकको उपस्थिती छैन । नयाँ चलचित्र रिलिज नभएकाले हलसम्म दर्शकको आकर्षण नभएको हो । लकडाउन भएपछि बलिउडका अधिकांश चलचित्रहरु डिजिटल प्लेटफर्ममा रिलिज भए । निर्माताले हल खुल्ने निश्चित नभएपछि ओटीटी प्लेटफर्ममा चलचित्र रिलिज गरेका थिए ।

विश्व बजारमा अब चलचित्रको माग डिजिटल प्लेटफर्ममा बढ्ने र यसले हल संचालनमा नै समस्या आउन सक्ने तर्क भएको थियो । तर, अहिले माहोल बदलिन थालेको छ ।

डिज्नी र हट स्टारले सबैभन्दा बढी अपेक्षा गरेको चलचित्र थियो, नायक अक्षय कुमारको ‘लक्ष्मी’ । रिलिज अगाडि निकै आशाका साथ हेरिएको यो चलचित्रले रिलिजको पहिलो दिन रेकर्ड ब्रेक गर्यो । दर्शकले यो चलचित्रलाई पहिलो दिन उत्साहका साथ हेरे । तर, दर्शक र समिक्षकको नकारात्मक प्रतिक्रियाका कारण चलचित्रले डिजिटल प्लेटफर्ममा दर्शकको साथ उल्लेख पाउन सकेन ।

भारतीय मिडियाका अनुसार, एक सातामा यो चलचित्रले डिजिटल संचालकको यो चलचित्रमाथिको लगानीको आधा प्रतिशत मात्र लगानी सुरक्षित गरेको छ । यसैले, यो चलचित्रबाट पनि लगानीकर्तालाई ठूलो रकम घाटा लाग्ने पक्का छ । यसले, डिजिटल प्लेटफर्ममा महंगो रकम दिएर चलचित्र किन्न चाहने संचालकहरुलाई सोच्न वाध्य बनाएको छ ।

अब, डिजिटल प्लेटफर्मका संचालकहरुले बलिउडका निर्मातालाई चलचित्र किन्नु अगाडि विशेष शो आयोजना गर्न माग गरेका छन् । क्रिसमसमा रिलिज हुन लागेको चलचित्र ‘कुल्ली नम्बर १’को विशेष शो आयोजना गर्न डिजिटल प्लेटफर्म संचालकले निर्मातासँग आग्रह गरेका छन् ।

यसले, कुनै प्रचार र तनावविना नै डिजिटल माध्यममा चलचित्र बेचेर नाफा कमाइरहेका निर्माताहरुको सोचमा धक्का लागेको छ । लकडाउनपछि रिलिज भएका चलचित्रमध्ये ‘गुञ्जन सक्सेना’ बाहेक अरु चलचित्र असफल भएका थिए ।

प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७     9:41:11 AM  |