बाँकेमा देउसी, भैलो खेल्न नपाइने



कोहलपुर ।

कोरोना महामारीको कारण बाँकेमा यसवर्षको तिहारमा देउसी, भैलो खेल्न नपाइने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकको कोरोना महामारीको जोखिम कायमै रहेकाले देउसी, भैलो खेल्न रोक लगाउने निर्णय गरेको हो ।

सम्बद्ध सरोकारवालाहरुको बैठकले भाइरसको जोखिम कायमै भएकाले भीडभाड हुने खालका कार्यक्रमलाई रोक लगाउने निर्णय गरेको केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

‘देउसी, भैलो साँस्कृतिक तथा परम्परागत संस्कृति हो’ उनले भने, ‘तर यसपाली परिस्थितिका कारण नखेल्न सबैलाई आग्रह गरेका छौं ।’

देउसी, भैलोमा भीडभाड बढी हुने र त्यसले कोरोनाको जोखिम फैलाउने भएकाले केन्द्रले रोक लगाउने निर्णय गरेको बैठकमा सहभागी नेपालगञ्ज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापामगरले बताइन् ।

धार्मिक स्थलहरुलाई भने आंशिकरुपमा खुल्ला गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिइन् । ‘ती मठ मन्दिरमा दर्शनका लागि जान दिने निर्णय बैठकले गरेको हो’ उनले भनिन्, ‘तर त्यहाँ भीडभाड लगाउन भने पाइने छैन् ।’

बैठकले समुदायस्तरमा हुने संक्रमणको जोखिम कम गर्न सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी गराइने निर्णय समेत गरेको थियो ।

बढी भिडभाड हुने उद्योग कारखानामा भौतिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गराउने निर्णय भएको हो । कोरोना संक्रमण फैलिनसक्ने भन्दै विभिन्न जिल्लाहरुमा यसअघि नै देउसी, दैलो खेल्न नदिने निर्णय भइसकेको छ ।

सरकारले पनि सकेसम्म आफु भएकै स्थानमा भिडभाड नगरेर चाडपर्वहरु मनाउन आग्रह गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार