चितुवाको छालासहित दुई युवक पक्राउ



दाङ ।

जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको छालासहित २ युवकलाई पक्राउ गरेको छ ।

घोराहीबाट चितुवाको छालासहित पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठानको नौंबहिनी गाउँपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय धनसिंह टमाटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार राति ८ बजेतिर दुई युवकलाई घोराही ८ बनगाउँबाट पक्राउ गरिएको बताए ।

उनीहरूको साथबाट ६ फिट ११ इञ्च लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम लागूऔषध अफिम समेत बरामद भएको दाङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिए ।

उनीहरूमाथि अवैध रूपमा लागूऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाउने तयारी भइरहेको दाङ प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २७ गते बिहीबार