25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको निशुल्क उपचार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।

मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । योसँगै प्रदेश १, प्रदेश २,   बागमती, लुम्बिनी, गण्डकीसहित ६ प्रदेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन्।

सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला कर्णाली प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता विमला केसीले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश व्यवस्थापिकाको अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीद्वारा जारी प्रेस नोटमा मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसंँग सम्बन्धित १६ निर्णय गरेको उल्लेख छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७     8:42:45 PM  |