बढ्न थाल्यो भन्सार छली, चोरी निकासी अवैध मोबाईलसहित एक पक्राउ



नेपालगञ्ज ।

बाँकेमा फेरी भन्सार छली तथा चोरी निकासी बढ्न थालेको छ । कोरोना महामारीका कारण सीमा क्षेत्रका सुरक्षा बढाइएपनि भन्सार छली तथा चोरी निकासी रोकिएको छैन । सोही क्रममा बाँके प्रहरीले अवैध रुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा मोबाइल सेटहरु बरामद गरेको छ ।

आइतबार बिहान मात्रै नेपालगञ्जबाट प्रहरीले ठूलो परिमाणको अवैध मोबाइलसहित एक जनालाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ निवासी ३१ वर्षिय अमरनाथ सोनीलाई अवैध मोबाईलसहित नियन्त्रणमा लिइएको थियो ।

आईतबार बिहान अन्दाजी साढे ९ बजे नेपालगञ्ज– ६ बाट सोनीले चलाएको भे ५ प २६८१ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा सोहि स्कुटरको डिक्की भित्र राखेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा मोबाइलहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार भारतबाट नेपाल ल्याउँदै गरेको विभिन्न ब्राण्डका २५ थान मोबाईल बरामद गरिएको हो । प्रहरीका अनुसार अप्पो ए फाईभ एस ४ थान, रियलमी फाईभ आइ २ थान, नारजु ट्वान्टी ५ थान, रेडमी नोट एट १ थान, पोको एक्स टू १३ थान गरि २५ थान मोबाईल बरामद गरिएको थियो ।

बरामद गरिएका विभिन्न ब्राण्डका मोबाईहरुको अन्दाजी मूल्य ६ लाख ६५ हजार रहेको बाँके प्रहरीले जनाएको छ । बरामद गरेको मोबाईल, स्कुटर र सोनीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । कोरोना महामारीका कारण नेपाल भारत सीमा बन्द हुँदा पनि भन्सार छली तथा चोरी निकासी गरेर विभिन्न सामानहरु आयात भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार