कोहलपुर ।
बाँकेको कोहलपुरमा होटल म्याक्सले अनौपचारिक सेवा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बीच होटलको ‘अफिसियल ओपनिङ’ मार्फत सेवा सुरु भएको हो । लामो समयदेखि भौतिक संरचना निर्माणको क्रममा अन्तिम चरणमा पुगेसँगै बाँकेको कोहलपुर क्षेत्रमा अत्याधुनिक सेवासहित होटल सञ्चालनमा आएको हो । स्वमिङ, फिटनेट, स्पा लगायतका अत्याधुनिक व्यवस्थासहित सेवा सुरु भएको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर गणेश चालिसेले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म होटलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अझै १० प्रतिशत मात्रै काम बाँकी छ । ग्राण्ड ओपनिङ पूर्व होटलमा पहिलो चरणमा ४० जना कर्मचारीले काम सुरु गरेका छन् । होटलमा अहिले पाँच प्रकारका ५० वटा गुणस्तरीय कोठा सहितको सेवा सुचारु भएको उनले जानकारी दिए । ‘लामो समयको प्रतिक्षापछि सेवा सुरु भएको छ ।
गुणस्तरीय सेवा दिनको लागि हामी आएका छौं । स्थानीय ग्राहक हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’ उनले भने । कोरोना कहरका बीच सेवा सुरु भएको भन्दै सामान्य अवस्था भएमा पछि नयाँ स्टाफ थपिने उनको भनाई छ । होटलको सम्पूर्ण संरचना निर्माण गर्नको लागि अनुमानित ३० करोड लागत लागेको यस क्षेत्रकै सबैभन्दा ठूलो होटल हो । यसको ग्राण्ड ओपनिङ भने बाँकेमा कोरोना संक्रमणको अवस्था सामान्य हुन वित्तिकै हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्