यातायात कार्यालयमा ‘टोकन प्रणाली’



यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको भिडभाडलाई कम गर्न तथा प्रभावकारी र सहज सेवा प्रवाह गर्ने लक्ष्यसहित फेरी टोकन प्रणाली लागू गरिएको हो । जुन दिन टोकन लिएको हो सोही दिन नै सेवाग्राहीले कार्यालयबाट सेवा पाउँनेगरी व्यवस्था मिलाइएको छ ।


नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा फेरी टोकन प्रणाली लागू गरिएको छ । सेवाग्राहीको भिडभाडलाई कम गर्न तथा प्रभावकारी र सहज सेवा प्रवाह गर्ने लक्ष्य अनुसार बिहीबारदेखि कार्यालयमा टोकन प्रणाली लागू गरिएको हो । कार्यालयको परिसरमा टोकन मेसिन जडान गरिएको छ ।

इन्भेस्टमेन्ट बैंक नेपालगञ्जको सहयोगमा बिहीबारदेखि टोकन मेसिन जडान गरि प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिए । ‘अब सेवाग्राहीले कामका लागि पालो कुरेपनि लाइन बस्नुपर्ने, विचौलिया राख्नुपर्ने झन्झटको अन्त्य हुन्छ’ उनले भने, ‘यातायातमा सेवा सुविधा लिनका लागि आएका सेवाग्राहीले जुनदिन टोकन पाए उनीहरूको काम सोही दिन हुनेछ ।’ उनले भने ‘अहिले २ सय ५० जना सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना छ ।

जनशक्ति र प्रविधीले साथ दिए उक्त संख्या बढ्न सक्छ ।’ सवारी जाँचपास, नामसारी, रुट परमिट, सवारी दर्ता र नविकरणका लागि आउने सेवाग्राहीका लागि टोकन प्रणालीको सुरुवात गरिएको छ । ‘हामीले अहिले सवारी शाखामा आउने सेवाग्राहीका लागि टोकनमार्फत सेवा दिनेछौं, यसलाई आगामी दिनमा थप विस्तार र व्यवस्थित गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ निमित्त कार्यालय प्रमुख खत्रीले भने । टोकन प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै काम पनि प्रभावकारी हुने कार्यालयले लक्ष्य लिएको छ ।

टोकन सिस्टमले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा सहयोग गर्ने छ । सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्धेश्यस्वरुप टोकन प्रणाली संचालनमा ल्याइएको अधिकृत खत्री बताउँछन् । जनशक्ति र प्रविधिलाई थप व्यवस्थित गरेर धेरैभन्दा धेरै सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखिएको उनले जानकारी दिए । अहिले २५० जना सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना रहेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्जमा बाँके, बर्दिया, जाजरकोट सुर्खेत, दैलेख दाङ लगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् । टोकन प्रणाली सुरु भएपछि सेवाग्राही समेत खुसी भएका छन् । बाँकेको कोहलपुरबाट लाइसेन्स नविकरण गर्न पुगेका विकास थापाले टोकन प्रणाली लागू भएपछि सहज भएको बताए ।

‘पहिले कामको लागि आउँदा घण्टौंसम्म चर्को घाममा लाइन लाग्नुपथ्र्यौं’ उनले भने, ‘टोकन प्रणाली लागू भएपछि समयको बचत हुनुका साथै लामो समय समेत लाइन लाग्नुपर्दैन ।’ कोराना महामारीका बेला सेवाग्राहीको ठूलो भिडभाड हुँदा कोरोना संक्रमणको जोखिम समेत धेरै
थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रबार