गढवामै सर्पदंशको उपचार



शिवु खनाल । दाङ ।

‘मेरो सासुआमा पनि सर्पले टोकेर बित्नुभयो । जेठानी दिदिको छोरीलाई पनि सर्पले टोकैरै निधन भयो । यहाँ धेरैले ज्यान गुमाउनु परेको छ । हामीले तीजमा गाएको गितले गाउँपालिकाका अध्यक्षको मन छोएर सर्पदंश उपचारकेन्द्र गढवामै बन्दा निकै राहत महसुस भएको छ’ गढवा ७ कि कमला भट्टले भनिन् । उनलाई अब सर्पले टोकेकै कारण अकालमा ज्यान गुमाउन नपर्ला भन्ने लागेको छ । अहिले उनी मात्रै होइन सिंगो गढवाबासी खुसीले गद्गद् भएका छन् । गढवा गाउँपालिकाले देउखुरीको गढवामा सर्पदंश उपचारको अस्पताल बनाएर उपचार सेवा सुचारु गरेपछि ४ जना नागरिकहरुले सेवा लिइसकेको उपचार केन्द्रका स्वास्थ्यकर्मी जिबराज शर्माले जानकारी दिए ।

‘उपचार केन्द्र नजिक हुदैन्थ्यो भने बाँचिन्थ्यो वा मरिन्थ्यो । सर्पले टोक्दासाथ अस्पतालमा गएर उपचार पाउँदा ज्यान जोगियो’ उपचारबाट घर फर्किएका–गढवा ६ रामपुरका तुल्ला जोगि मुसलमानले भने । बितेको एक वर्षमा गढवा गाउँपालिकामा मात्र १ सय २६ जनालाई सर्पले टोकेको र गत साउनदेखि हालसम्म २५ जनालाई सर्पले टोकेर गोरुसिंगे उपचारकेन्द्रमा लगेको तथ्यांक गाउँपालिकामा छ । स्वास्थ्य शाखाका संयोजक कैलाश चौधरी यसबाट धेरैको ज्यान जोगिएका बताउँछन् । गढवा गाउँपालिकाले सर्पदंशका बिरामीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको उनले बताए ।

गतवर्ष १ सय २६ जनालाई एम्बुलेन्स खर्च प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवको भनाइ छ । लमही स्थित रिपुमर्दन गणबाट बिहानै नेपाली सेनाका प्राविधिकहरु आउने र बेलुका गणमा फर्किने गरेको गाउँपालिकाले जनाएको छ । रातको समयमा कसैलाई सर्पले डस्यो भने तालिम प्राप्त स्वास्थ्यकर्मीबाट उपचार सुरु हुँदै गर्दा सेना तुरुन्त आउने व्यवस्था गरिएको उनले जानकारी दिए । ‘केन्द्रमा केहि प्रोसेस मिलाउन बाँकी छ । सबै कार्य पुरा भएपछि उपचार केन्द्रमै आर्मीको टुकडी बस्ने योजना छ । जसका लागि हामीले पहल गरिरहेका छौं’ अध्यक्ष यादवले भने ।

महिलाहरुले तीजको गित गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गित गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतवर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगित महोत्सवको आयोजना गर्यो । कार्यक्रममा उपस्थित महिलाहरुले तीज गितकै रचनाको माध्यमबाट सर्पदंश उपचार केन्द्रको जोडदार माग गरे । उता रेडक्रस, उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाहरुले पनि भेलाको आयोजना गरि सर्वदलीय सर्वपक्षीय उपचार केन्द्र निर्माण सहयोग समिति बनाए ।

सोहि महोत्सवमै रेडक्रसले सर्पदंशको बिगबिगी र यसको न्यूनिकरण सचेतना सम्बन्धि सडक नाटक पनि प्रस्तुत ग¥यो । हजारौंको संख्यामा जुटेका महिला दिदीबहिनीहरुको गितले प्रमुख अतिथि प्रदेश नं. ५ का सांसद सरस्वती गौतम मञ्चमा बसिरहेका गढवा गाउँपालिकाका अध्यक्ष यादवको मन छोयो । गतवर्षको मंसिरमा प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला बिपद् ब्यवस्थापन समितिले पनि गढवामा सर्पदंश उपचार केन्द्र निर्माणको एजेण्डा पास गरि केन्द्रमा पठायो ।

सोहि अनुरुप गढवा गाउँपालिकाको हिउँदे अधिवेशनबाट सर्पदंश उपचार केन्द्र स्थापनार्थ १ करोड रकम बिनियोजन भयो र काम सुरु भयो । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले नेपाली सेनासँगको समन्वय बढाई रहे । सोहि रकमले इभिडिङ सिष्टमको टेण्डर प्रकृयाबाट ऋतु निर्माण सेवाले सर्पदंश उपचार केन्द्रको भवन र निमादेवि निर्माण कम्पनिले नेपाली सेनाको गण बस्ने आर्मि बस्ने भवन निर्माणको काम सकेपछि गत असोज ४ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रलबाट उपचार केन्द्रको उद्घाटन भई सेवा सुचारु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १४ गते बुधबार