मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढीमा २५ शैयाको अस्पताल बन्ने भएको छ । एक पालिका एक अस्पतालको अवधारणा अनुसार बाँसगढीमा समेत २५ शैयाको अस्पताल निर्माण हुन भइरहेको हो ।
प्रदेश ५ सरकारको समपुरक बजेटमा बाँसगढीमा २५ शैयाको अस्पताल बन्नेछ । अस्पताल निर्माणको विषयमा छलफल गर्नको लागि सोमबार बाँसगढी नगरपालिकाको अगुवाईमा सर्वपक्षिय बैठक बसेको थियो ।
बैठकले अस्पताल निर्माण गर्ने स्थानको समेत टुङ्गो लगाएको छ । बैठकले अस्पताल बनाउनको लागि पशु सेवा शाखा कार्यालय रहेको र त्यसभन्दा पश्चिम रहेको सार्वजनिक जग्गा समेत प्रयोग गर्ने निर्णय गरेको नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।
‘सर्वपक्षिय बैठक गरेर हामीले अस्पताल निर्माणको लागि स्थान खोजिसकेका छौं’ उनले भने, ‘सबै राय सल्लाहको आधारमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउँछौं ।’
बाँसगढी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसीले ८ करोडको लागतमा २५ शैयाको अस्पताल बनाइने जानकारी दिए । सर्वपक्षिय बैठकमा विभिन्न राजनितीक दलका प्रतिनिधी, उद्योगी व्यवसायी, सामाजिक अगुवा, स्थानीय जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
उनीहरुले चाँडो भन्दा चाँडो अस्पताल निर्माण गरेर सक्नुपर्ने बताएका थिए । अस्पताल निर्माण गरेपछि त्यसलाई सुविधासम्पन्न बनाउने तर्फ अहिलेबाट नै ध्यान दिनुपर्ने उनीहरुले सुझाव दिए ।
यसैबीच सोमबार नै बसेको बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रणको लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गरि कोभिड नियन्त्रणको रोकथामको लागि जनचेतनामुलक कार्यक्रमको लागि नगर भित्रका शिक्षक तथा युवा परिचालन गर्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्